एसएलसीमा दुईपटक फेल भएपछि मेरो विवाह भयो : दीपकराज गिरी



८ वर्षको उमेरमा विद्यालय भर्ना भएँ
मैले क,ख,ग… घरबाट नै सिकेँ । मेरो बुवा शिक्षित हुनुहुन्थ्यो । जसले गर्दा उहाँले घरमै मलाई ‘क’देखि ‘ज्ञ’सम्म पढाउनुभयो । त्यसवेला अहिलेको जस्तो नर्सरी, एलकेजी हुँदैनथ्यो । आधा कक्षा र एक कक्षा भन्ने हुन्थ्यो । तर, मचाहिँ ८ वर्षको उमेरमा दहचोकको श्रीकृष्ण माविमा कक्षा २ मा भर्ना भएँ । त्यसपछि मेरो विद्यार्थीजीवन सुरु भयो ।

एसएलसीमा फेल भएँ
मेरो बुवा कृषि विकास बैंकमा जागिरे हुनुहुथ्यो । त्यसैले गर्दा उहाँ जहाँ जानुभयो म पनि त्यहीँ जानुपर्ने बाध्यता थियो । यहीक्रममा मेरो बुवाको सरुवा भयो । अनि मैले कक्षा ४ देखि ६ सम्म बागबजारस्थित सहिद शुक्र माविमा अध्ययन गरेँ । यहाँ पनि दुई वर्ष अध्ययन गरेपछि म फेरि भक्तपुरस्थित सिद्धार्थ बोर्डिङमा कक्षा ७ मा भर्ना भएँ । त्यहाँ मैले एक वर्ष मात्र अध्ययन गरेँ । त्यसपछि कालिमाटीको जनप्रभात माविमा कक्षा ८ मा भर्ना भएँ । त्यहाँ पनि ८ कक्षा मात्रै अध्ययन गरेँ । त्यसपछि फेरि म थानकोटस्थित प्रभात माविमा गएर कक्षा ९ मा भर्ना भएँ । त्यहाँबाटै मैले ०४१ सालमा एसएलसी दिएँ । तर, एसएलसीमा फेल भएँ । मैैले ०४२ मा पनि एसएलसी कटाउन सकिनँ । ०४३ सालमा फेरि एसएलसी दिएँ । त्यो वर्षचाहिँ द्वितीय श्रेणीमा उत्तीर्ण भएँ । खुसीको सीमा नै रहेन ।

मेरो कुरा काटे
मेरो बुवाले गाउँमै पहिलोपटक एसएलसी पास गर्नुभएको थियो । अनि शाखा अधिकृत पनि गाउँकै पहिलो हुनुहुन्थ्यो । तर, मचाहिँ एसएलसीमा पटक–पटक फेल हुँदा मेरो कुरा काट्न थाले । मलाई सबैले लद्दु रहेछ भन्न थाले । गाउँका अरू मान्छेले आफ्ना छोराछोरीलाई गाली गर्दा पनि धेरै बदमास नगर्, राम्रोसँग पढ् फेरि दीपकजस्तो होलास् भनेर गाली गर्थे । दुईपटक एसएलसी फेल हुँदा निकै ठूलो बदमासी गरेँछु जस्तो लाग्यो ।

एसएलसीपछि असफल हुनुपरेन
मंगलोदय बहुमुखी क्याम्पस थानकोटमा आइएमा भर्ना भएँ । मैले नेपाली र राजनीतिशास्त्र विषयमा अध्ययन गरेँ । म एसएलसीमा २ पटक फेल भएको भनेर धेरैले उडाएका थिए । त्यही इखले गर्दा मैले एसएलसीपछिको पढाइमा धेरै ध्यान दिन थालेँ । जसले गर्दा म त्यसपछि पढाइमा असफल हुनुपरेन । मैले आइए पनि राम्रैसँग उत्तीर्ण गरेँ । त्यसपछि म स्नातक तहको अध्ययनका लागि रत्नराज्यलक्ष्मी क्याम्पस गएँ । जहाँ मैले नेपाली नाटक लिएर अध्ययन गरेँ । स्नातक पनि राम्रैसँग उत्तीर्ण गरेँ । त्यसपछि समाजशास्त्रमा स्नातकोत्तर गर्न खोजेँ, तर कलाकारिताले छेक्यो ।

प्रहरी बनोस् भन्ने बुवाको चाहना
मेरो बुवाको छोराले राम्रोसँग पढोस् भन्ने थियो । तर, म एसएलसीमा दुईपटक फेल भएपछि बुवाले मेरो विवाह गरिदिनुभयो । अर्को कुरा बुवाको चाहनाचाहिँ म प्रहरी भएको हेर्ने थियो । म प्रहरीमा गएँ । नाम पनि निस्कियो । तर, मलाई प्रहरी बन्ने इच्छा नभएर तालिमको ७ दिनमै भागेँ । भागेर घर आएपछि बुवा निकै रिसाउनुभयो ।

नेविसंघ जिल्ला सदस्य भएँ
म कलेजमा अध्ययन गर्दा राजनीतिमा निकै सक्रिय थिएँ । नेविसंघको राजनीतिमा सक्रिय थिएँ । मंगलोदयमा अध्ययन गर्दादेखि नै म राजनीतिमा सक्रिय हुन थालिसकेको थिएँ । यहीक्रममा म आरआरमा अध्ययन गर्न आएँ । त्यसपछि राजनीतिमा झनै सक्रिय भएँ । सोहीवेला ०४७ मा नेविसंघ काठमाडौं जिल्लाको जिल्ला सदस्य भएँ । अनि मेरो कलाकारितातर्फको झुकाब पनि बढ्दै थियो । कलाकारितामा लागेपछि ०५२ बाट राजनीतिलाई पूर्णविराम लगाएँ ।

प्रहरीको लिस्टमा मेरो नाम
कलेजमा अध्ययन गर्दा विभिन्न आन्दोलनमा पनि सहभागी भएँ । विशेषगरी ०४५÷०४६ को आन्दोलनमा ढुंगामुढा गर्न हिँडेँ । जसले गर्दा मेरो नाम प्रहरीको हिट लिस्टमा थियो । पक्राउ परिनँ । तर, बहुदल नआएको भए पक्राउ पर्थेँ होला ।

कलेजमा कसैसँग झगडा भएन
विद्यार्थी राजनीतिमा सक्रिय हुँदा धेरैजसो अखिल र नेविसंघको झगडा भइरहन्थ्यो । तर, मचाहिँ झगडा गर्ने प्रकृतिको थिइनँ । म सकेसम्म झगडा मिलाउँथेँ । त्यसैले मैले कलेजको झगडामा कसैलाई पिटिनँ कसैको पिटाइ पनि खाइनँ ।

पिसाब फेर्ने निहुँमा साथीहरुबाट छुट्टिएर कक्षाकोठामा जान्थेँ
कतिपय साथीहरू कलेज जान्थे, तर राजनीतिक कुराकानी गरेर नै समय बिताउँथेँ । तर, म एसएलसीमा ३ पटक फेल भएर आएकाले पनि पढाइमा विशेष ध्यान दिन्थेँ । जसले गर्दा साथीहरू गफ गरेर बसौँ भन्थे मचाहिँ पिसाब फेर्ने निहुँले कक्षाकोठामा गएर पढ्थेँ । (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्