भौतिक विकासले मात्र सुखी हुन नसकिने



काठमाडौँ, २३ चैत

भौतिक विकासले मात्र हामी सुखी हुन नसक्ने बिहीबार आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिनुभएको छ ।

श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरले आयोजना गरेको डा मिलनकुमार थापाद्वारा लिखित मन्त्र विज्ञान् एक विमोचन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुखी नभई समृद्धि प्राप्त हुन नसक्ने भएकाले मन र मुटुको शुद्धीकरणका लागि मन्त्र साधना गर्नुपर्ने बताउनुभयो ।

मन्त्र शक्तिको विज्ञान भएकाले मन स्थिर राख्न साधना आवश्यक भएको उहाँको भनाइ थियो । शताब्दी पुरुष सत्यमोहन जोशीले तन्त्रद्रष्टा ऋषिहरुले ध्यान साधनाका माध्यमबाट मन्त्र देखेको हिमालय क्षेत्रको मन्त्र विज्ञानको महत्व लोप हुन नहुने बताउनुभयो ।

तन्त्र, मन्त्र र यन्त्रलाई उपेक्षा गर्नुनहुने उहाँको सुझाव थियो । पशुपति नाथ, मुक्तिनाथ, केदारनाथ र बद्रीनाथलगायतका धार्मिक सम्पदालाई जोडेर सांस्कृतिक वृत्त निर्माणको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा राख्नुपर्ने माग संस्कृतिविद् जोशीले गर्नुभयो ।

सांसद गगन थापाले बौद्धिक कालदेखिको सनातन धर्मको रक्षा गर्नु राज्यको दायित्व भएको बताउनुभयो । सांसद नवराज सिलवालले पश्चिमा जगत्का मानिससमेत शान्तिका लागि पूर्वीय दर्शनको मार्गमा आकर्षित भएका बेला मन्त्र विज्ञानलाई नेपालीले भुल्न नहुने विचार राख्नुभयो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयका पूर्व प्रा डा दीर्घराज घिमिरेलाई पूर्वीय दर्शनको प्रवद्र्धनमा योगदान पु¥याउनुभएकामा रु ११ हजार एक राशिको पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यसैगरी, ज्योतिषी ओजराज लोहनी र पशुपति अर्चक गिरिश भट्टराईलाई रु पाँच हजार एक राशिको पुरस्कारसहित सम्मान गरियो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले पाउनुभएको पुरस्कार पशुपति वृद्धाश्रम र ज्योतिषी लोहनीले पाउनुभएको पुरस्कार डा स्वामी प्रपन्नाचार्य स्मृति ग्रन्थ प्रकाशन समितिलाई प्रदान गरियो ।

कडा आवरणमा तीन खण्ड, २८० पृष्ठ रहेको पुस्तकको मूल्य रु दुई हजार ५७५ छ । पुस्तकको सम्पादन हरिप्रसाद सोडारीले गर्नुभएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहनुभएका लेखक थापाका यसअघि तन्त्र विज्ञान र ज्ञानशाला (संयुक्त लेखन) पुस्तक प्रकाशित भइसकेका छन् । विद्यावारिधीको शोधलाई लेखक थापाले पुस्तकका रुपमा प्रकाशन गर्नुभएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्