पहिलो डान्स रियालिटी सो ‘बुगीवुगी’ आजदेखि, यी हुन् सुपर–१८ प्रतिस्पर्धी



काठमाडौं, १५ चैत

नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’ एपी वान टेलिभिनजबाट बिहीबारबाट प्रसारण हुँदैछ। बुगीवुगीको निर्णायकमा अहिलेकी व्यस्त अभिनेत्री प्रियंका कार्की, अभिनेता एवं कुशल नृत्यकार दिलीप रायमाझी र अर्का नृत्य निर्देशक कविराज गहतराज रहेका छन्।

‘नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सिंगिङ रियालिटी सो नेपाल आइडलको सफलतापछि अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी सो बुगीवुगी सुरु गर्न लागेका हौं’, एपी वानले जनाएको छ।

चैत १५ गते बिहीबार बेलुकी ८ बजे प्रिमियर गरिने बुगीवुगीको पहिलो भागमा देशभरबाट छानिएर आएका हजारौं सहभागीबाट अडिसनमा उत्कृष्ट सय प्रतिस्पर्धी प्रस्तुत हुनेछन्। त्यसपछि सयबाट उत्कृष्ट भएका १८ प्रतिस्पर्धीले आफ्नो नृत्यकला प्रस्तुत गर्नेछन्।

बुगीवुगीको निर्देशन एलिन श्रेष्ठले गर्दैछन्। बुगीवुगीको नेपाली संस्करणका विजेताले कार, १५ लाख नगद तथा विभिन्न कन्ट्र्याक्ट पुरस्कारस्वरूप प्राप्त गर्नेछन्।

‘बुगीवुगीका लागि अनलाइनबाट अडिसन मागेका थियौं। तीन हजारको आवेदन परेको थियो’, श्रेष्ठले भने, ‘तीमध्येबाट एक सय ५० जना छनोट गरेर काठमाडौं बोलाएका थियौं। त्यसपछि कोरियोग्राफी राउन्डमा भिडायौं। यो राउन्डबाट १८ जना छानिए।’ सुपर–१८ बाहेक तीनजनालाई पनि छानिएको उनले बताए। यी तीनजनालाई कुनै पनि बेला सोमा प्रवेश गराउने उनले बताए।

सुपर–१० सम्म एक पटकमा दुईजना सोबाट बाहिरिनेछन्। सुपर–१० बाट ‘जजमेन्ट राउन्ड हुन्छ। यो राउन्डमा ५० प्रतिशत मत जजको र ५० प्रतिशत दर्शकको हुने उनले जानकारी दिए। यसमा एरियल, रोबोटिक्सलगायत डान्स समावेश छन्। डान्स मात्रै होइन, त्यसलाई जीवन्त बनाउन थप इन्पुट दिने श्रेष्ठले बताए।

बुगीवुगीलाई सन् १९९६ मा भारतका जावेद जाफरी र रवि भेलले सुरु गरेका थिए। अन्नपूर्ण मिडिया नेटवर्कले नेपालका लागि उक्त प्रतियोगिताको निर्माण एवं प्रदर्शन अधिकार किनेको हो।

यी हुन् सुपर–१८ प्रतिस्पर्धी
सञ्जयकुमार लामा (रामेछाप), प्रमिला सुनुवार (बुटवल), रविन भुजेल (विराटनगर), सरोज मोक्तान (काभ्रेपलाञ्चोक), रेश्मा राई (धरान), मेनुका तामाङ (सिन्धुली), कृष्ण मि श्र (रूपन्देही), कविता न्यौपाने (बुटवल), करण साह (नेपालगन्ज), सम्पन्नता बिन्दुकार (काठमाडौं), सागर मगर (खोटाङ), प्रतिष्ठा पौडेल (गुल्मी), प्रगति पुन (तनहुँ), आतिष जैरू (झापा), कविता नेपाली (सर्लाही), सृष्टि महर्जन (काठमाडौं), शुभम भुजेल (झापा) र मनीष नेपाली (रूपन्देही)

प्रतिक्रिया दिनुहोस्