निरन्तर बियरिस ट्रेन्डमा सेयर बजार, नयाँ लगानीकर्तालाई अवसर



सरकारको आश्वासन खोज्दै छन् लगानीकर्ता

बाम गठबन्धनको नयाँ सरकार गठन भएपछि सेयर बजार परिसूचक (नेप्से) २ सयभन्दा धेरै अंकले घटेको छ । फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओली प्रधानमन्त्री नियुक्त भएको दिन नेप्से परिसूचक १ हजार ४ सय २४ बिन्दुमा रहेको थियो । ७ दिनको अवधिमा परिसूचक घटेर गत बिहीबार १ हजार २ सय २० बिन्दुमा ओर्लिएको छ ।

स्थायी सरकार गठन हुने भएपछि सुरुवातका दिनमा लगानीकर्ता उत्साहित देखिएका थिए । त्यसैले सरकार गठन भएकै दिन भने परिसूचक ३६ अंकले बढेको थियो । तर, त्यसपछिका दिनहरूमा भने परिसूचक निरन्तर ओरालो लागेको छ ।

बजार बियरिस प्रवृत्तिमा रहँदा सबैभन्दा बढी मध्यमस्तरका लगानीकर्ता मारमा परेका छन् । कर्जा लिएर लगानी गर्ने महिला तथा विद्यार्थीहरूले धेरै गुमाएको सेयर विश्लेषकहरू बताउँछन् । ठूला लगानीकर्ताहरूले पहिले नै सुरक्षा नीति अपनाउँछन् । तर, मध्यम खालका लगानीकर्ताहरूको मनोबल छिटो खस्किने भएकाले पनि सामान्य घटनाले बजारमा बिक्री चाप झनै बढ्ने उनीहरूको तर्क छ ।

सरकारको धारणा खोज्दै छन् लगानीकर्ता
सरकारले जिम्मेवारीपन नदेखाउँदा सेयर बजारमा गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । स्थायी सरकार आएपछि बजार अझै परिपक्व भएर जाने लगानीकर्ताको अपेक्षा थियो । तर, सरकार गठन भएको एक महिना बितिसक्दा बजार विपरीत ओरालो लागेको छ । सरकारले अझै पनि मौनधारण गरिरहँदा लगानीकर्ता झनै अन्योलमा परेको सेयर लगानीकर्ता संघ नेपालमा अध्यक्ष उत्तम अर्यालले बताए । ‘लगानीकर्ता सरकारको तर्फबाट केही प्रतिक्रिया चाहन्छन् ।

बजारका विषयमा सरकारको धारण के छ जान्न चाहन्छन्,’ उनले भने । सेयर विश्लेषक अमृतनाथ घिमिरे पनि अर्यालको धारणामा सहमत राख्छन् । उनका अनुसार लगानीकर्ता सरकारी ह्वाइट पेपरको पर्खाइमा छन् । ‘सरकारले बजारका लागि के गर्न सक्छ भन्ने विषयमा लगानीकर्ता जान्न इच्छुक छन् । जबसम्म सरकारले बजारका विषयमा केही सम्बोधन गर्दैन, तबसम्म बजारमा यस्तै गिरावट आइरहन्छ,’ उनले भने ।

बजारमा चैत मसान्तको प्रभाव
चैत मसान्तका कारण पनि बजारमा बियरिस ट्रेन्डमा देखिएको कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाटको जिकिर छ । ‘यो समयमा प्रायः बजार घट्ने गर्छ । यो सामान्य प्रक्रिया हो । यतिवेला लगानीकर्तालाई बैंकको दबाब पर्ने भएकाले पनि बजारमा ओभरसोल्डमा जोनमा देखिन्छ,’ उनले भने । साथै नयाँ सरकारले बजारका विषय केही धारणा प्रस्तुत नगरेका कारण पनि बजार घटेको उनको भनाइ छ ।

समयमै सूचीकृत भएन बोनस र हकप्रद सेयर
अधिकांश सूचीकृत कम्पनीहरूले तोकिएको समयमा हकप्रद सेयर र बोनस सेयर सूचीकृत नगर्दा लगानीकर्ताको रकम फ्रिज भएको इन्भेस्टर्स फोरमका अध्यक्ष पौडेलले बताए । ‘कम्पनीहरूले १ वर्षसम्म पनि सेयर सूचीकृत गर्दैनन् । यसले गर्दा लगानीकर्ताको ठूलो रकम फ्रिज हुने गरेको छ,’ उनले भने । यो समस्यालाई सम्बन्धित निकायले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने उनले बताए । त्यस्तै, बजारलाई जतिसक्दो छिटो अनलाइन प्रणालीमा लैजानुपर्ने लगानीकर्ताहरूको तर्क छ । पछिल्लो समयमा बजारमा ठूलो सेयर सूचीकृत हुँदै गएको छ । तर, सोहीअनुसार कारोबार बढाउने मेकानिजम नहुँदा बजारमा समस्या देखिएको फोरमका अध्यक्ष पौडेलले बताए ।

नयाँ लगानीकर्ताका लागि अवसर
बजार बियरिस ट्रेन्डदेखि रहँदा नयाँ लगानीकर्ताका लागि भने अवसर सिर्जना भएको छ । यतिवेला राम्रा–राम्रा कम्पनीको सेयर मूल्य घटेर न्यून बिन्दुमा आएको छ । तसर्थ, यो समय नयाँ लगानीकर्ताले अवसरको सदुपयोग गर्न सक्ने विश्लेषकहरू बताउँछन् । तर, सेयर खरिद गर्दा लामो अवधिका लागि वित्तीय अवस्था राम्रो भएको कम्पनी छनोट गरी लगानी गरेमा घाटा व्यहोर्नुनपर्ने उनीहरूको तर्क छ ।

बैंकमा सिफ्ट भयो लगानी
बैंक तथा वित्तीय संस्थाले अधिक ब्याज दिन थालेपछि लगानीकर्ताहरूले सेयर बजारको लगानी बैंकतर्फ सिफ्ट गरेको नेपाल स्टक एक्सचेन्जको प्रमख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘केही लगानीकर्ताले उच्च ब्याजदर पाउने आशामा लगानीयोग्य रकम बैंकतिर सारेका छन् । यसले बजारमा घट्नमा सहयोग पुगेको हो,’ उनले भने ।

तर, इन्भेस्टर्स फोरम नेपालका अध्यक्ष अम्बिकाप्रसाद पौडेले भने बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बजार घट्नमा सहयोग पु¥याए पनि बजार नै प्रभावित हुने गरी बैंकमा लगानी नसारेको बताए । ‘बैंकको ब्याज भनेको छोटो अवधिका लागि हो । सेयरमा बजारमा लगानी गर्न पोख्त व्यक्तिले ब्याजकै लोभमा बैंकमा लगानी सिफ्ट गर्दैनन्,’ उनले भने । सेयर लगानीकर्ता संघका नेपालका अध्यक्ष अर्यालले भने केही लगानीकर्ताले सेयर बिक्री गरेर बैंकको निक्षेपमा लगानी गरेको हुन सक्ने आशंका व्यक्त गरे । तर, बजारलाई नै प्रभाव गर्ने गरी लगानीकर्ताले रकम सिफ्ट नगरेको उनको पनि दाबी छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्