अशिक्षा र गरिबीले समस्याग्रस्त ज्यामिरे गाउँ



तेह्रथुम, ३ फागुन
जिल्लाको छथर गाउँपालिका–३, पञ्चकन्याको ज्यामिरे बस्ती गरिबी र अशिक्षाले जकडिएको छ । बालविवाह, वर्षेनी सुत्केरी , उचित खानपान, हेरचाह र स्याहारसुसारमा कमी, विद्यालयमा अनियमितताजस्ता कुरा यहाँका बासिन्दाका लागि सामान्य लाग्छन् ।

सिंगो गाउँ गरिबी र अशिक्षाको सिकार बनेको छ । गरिबीले सबैका घरमा बिहान खाए बेलुका के खाने रु भन्ने चिन्ता छ । बालबालिका नियमित विद्यालय जाँदैनन् । कतिपयको जन्मदर्ता पनि छैन । गाउँ नजिकै विद्यालय भएपछि सिंगो गाउँबाट अहिलेसम्म एक जनाले पनि एसएलसी उत्तीर्ण गरेका छैनन् । गाउँमा शिशु मृत्युदर उच्च छ ।

छोराछोरीको जन्मदर्ता नहुँदा विद्यालय भर्ना नै गर्न नपाएको २७ वर्षे सविना लिम्बूले बताइन् । बाह्र वर्षमा भागेर बिहे गरेकी उनको आफ्नै नागरिकता छैन । केही वर्षदेखि श्रीमान् घरमा छैनन् । चौध वर्षमै आमा बनेकी उनले जन्माएका सातमध्ये पाँच सन्तान जीवित छन् । श्रीमान्ले छाडेर सम्पर्कविहीन भएपछि सविना र नानीहरु बिचल्लीमा छन् ।

श्रीमान् आउलान् र बिहे दर्तासँगै पाँच नानीलाई विद्यालय भर्ना गराउन पाइएला भन्ने आशा छ उनलाई । ज्यामिरेकै ४२ वर्षे भीमकुमारी लिम्बूले पनि १७ सन्तानलाई जन्म दिइन् तर मजदूरी गरेर हुर्काउन नसक्दा अहिले १० जना मात्रै जीवित छन् । यही गाउँकी ४२ वर्षे विन्दुमाया लिम्बूका पनि सात छोराछोरी छन् । वर्षेनी सुत्केरी हुँदा आमा र बच्चा सबैलाई उचित खानपान, हेरचाह र स्याहार पुगेको छैन ।

ज्यामिरे गाउँमा “सन्तान भगवानले दिने हुन्, दिएजति हात थाप्नुपर्छ” भन्ने अन्धविश्वास अझै हट्न सकेको छैन । तेइस घर लिम्बू परिवार बसोबास गर्ने यो गाउमाँ गरिबी र चेतनाको अभावले सन्तान उत्पादनदर उच्च छ । मजदूरी गरेर पेट पाल्नुपर्ने परिवारमा धेरै सन्तान भएपछि बाबुआमाले केटाकेटीलाई विद्यालय पुर्याउन सम्भव नभएको भीमकुमारी बताइन् ।

गाउँ नजिकै स्कूल भए पनि यहाँका केटाकेटी नियमितरुपमा जाँदैनन् । नानीलाई विद्यालय पठाउन घरको अवस्थाले समेत नसक्ने अवस्थामा पुर्याएको उनको भनाइ छ । दश सन्तानकी आमा भीमकुमारीलाई पनि छोराछोरीलाई विद्यालय पठाएर ठूलो मान्छे बनाउन मन छ । तर दिनभर मजदूरी नगरी घर नचल्ने भएकाले नानीहरुलाई विद्यालय पठाउन आफैँले समय दिन सकेकी छैनन् ।

“घरबाट स्कूल पुर्याउन भ्याइँदैन, जान त जान्छन्, तर कहिले पुग्छन्, कहिले बाटैबाट फिरेर आउँछन्,” उनले भनीन् । ज्यामिरे बस्तीबाट विद्यालय पुग्न बढीमा १५ मिनेट मात्रै लाग्छ तर अहिलेसम्म यो गाउँका एक जनाले पनि एसएलसी उत्तीर्ण नगरेका स्थानीयवासी होम पारघरीले बताइन् ।

“स्कूल त नजिकै छ, तर कक्षा–८ भन्दा माथि पढ्ने खासै छैनन्, अझ एसएलसी पास गर्ने त कोही पनि छैन,” उनले भनिन् । ज्यामिरे गाउँमा १७ वर्ष नकट्दै बिहे गर्ने, पाँचभन्दा बढी सन्तान जन्माउने, दिउँसै मादकपदार्थ सेवन गरेर बस्ने, झैझगडा गर्नेजस्ता गतिविधि नियमित हुने गरेका पारघरीले बताइन् ।

जिल्लाकै अन्य गाउँमा सूचना प्रविधि र विकासले गति लिइरहँदा ज्यामिरे गाउँमा अशिक्षा र गरिबीले निरन्तर जरा गाडिरहेको छ । यो बस्तीको समस्याका विषयमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
ज्यामिरे गाउँको समस्या समाधानका लागि गाउँपालिकाले लक्षित वर्गको बजेटबाट कार्यक्रम सञ्चालन गर्ने छ थर गाउँपालिकाका अध्यक्ष सन्तवीर तिगेलाले बताए । “गाउँपालिकाले लक्षित वर्गका लागि चालू आर्थिक वर्षमा रु ९० लाख विनियोजन गरिएको छ, अब त्यही बजेट ज्यामिरेको समस्या समाधानको पहल हुन्छ” उनले भने ।

गाउँपालिकाले जन्मदर्ता, विवाहदर्ता लगायत पञ्जीकरण र अन्य सेवाबारे अभियानै सञ्चालन गर्ने तयारी गरिरहेको उनले बताए । गरिब र असहायलाई गाँसबास तथा बालबालिकालाई निःशुल्क पढ्न पाउने व्यवस्थाका लागि आफूले व्यवस्था गर्ने अध्यक्ष तिगेलाले जानकारी दिए । गरिबी र अशिक्षाको अन्धकारमा रुमलिएको ज्यामिरे बस्तीको अनुहार फेर्न गाउँपालिकाले सार्थक पहल चाल्नुपर्ने आवश्यक रहेको पञ्चकन्याका मनकुमार लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्