इँटा उद्योगबाट सयौँलाई रोजगारी



पाल्पा, १ फागुन

रामपुरमा इँटा उद्योग सञ्चालनमा आएपछि सयौँ बेरोजगार युवालाई रोजगार मिलेको छ ।

रामपुरका स्थानीय युवा सीताराम देवकोटा र सुन्दर देवकोटाले सञ्चालन गरेको इँटा उद्योगमा हाल १०० भन्दा बढी मजदुरलाई रोजीरोटी गर्ने अवसर मिलेको छ । इँटा उद्योगमा मजदुरी गरेर परिवारको लालनपालनसँगै छोराछोरीको पढाइ खर्चका लागि सहज भएको कामदार किशोरी बैठ्ठा बताउछन् । रौतहटबाट रोजगारका निम्ति यहाँ आएका उनले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ३० हजारभन्दा बढी कमाइ गर्छन ।

यहाँ काम गर्ने सबैजसो कामदार तराई क्षेत्रका छन् । रौतहटकै अर्का मजदुर दिनेश रावत कुर्मीले इँटा उद्योगमा मजदुरी गरेर मासिक रु ४० हजारसम्म आम्दानी गर्छन । इँटा उद्योगमा मजदुरी गरेर उनले ११ जना परिवारको गुजारा चलाउँदै आएका छन् ।

“विदेश गएर कमाउने पैसा नेपालमै कमाउन सकिन्छ, दाम कमाउनकै निम्ति विदेश जानुपर्ने अवस्था छैन”,भन्छन् ।

पूर्वी पाल्पामै एकमात्र आधिकारिक रुपमा सञ्चालित उक्त इँटा उद्योगबाट बेरोजगार युवालाई पर्याप्त आम्दानी गर्ने अवसर मिलेको छ । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सो उद्योगमा रु डेढ करोडभन्दा बढी लगानी गरेको सञ्चालक सुन्दर देवकोटा बताउछन् । यहाँ दैनिक ४० हजारको हाराहारीमा इँटा उत्पादन हुने गरेको छ । प्रतिइँटाको मूल्य १४ रुपैयाँ ५० पैसा पर्छ ।

काम र परिश्रमअनुसार मजदुरलाई सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको अर्का सञ्चालक सीताराम देवकोटा बताउछन् । यहाँ उत्पादित इँटा गुणस्तर र टिकाउ रहेकाले माग दिनानुदिन बढ्दो रहेको उनले बताए । उद्योगमा काम गर्ने सबैजसो मजदुरले घरायसी खर्च र छोराछोरीको पढाइ खर्च राम्रोसँग चलाउँदै आएका छन् । सो उद्योगमा उत्पादित इँटा पाल्पा, स्याङ्जा, तनहुँ तथा नवलपरासीलगायत विभिन्न जिल्लामा खपत भएको छ ।

प्रतिक्रिया दिनुहोस्