प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु



नवलपरासी, १ फागुन

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको  संरक्षण  अभियान चलाएको  छ  ।

प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिए ।

अभियान अन्तर्गत नगर क्षेत्रभित्र रहेका खोलानालामा हाल हुँदै आएको दोहन, उत्खनन लगायतका कार्य नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण अभियान देशमै स्थानीय तहमध्ये पहिलो कार्य भएको  मध्यबिन्दु नगरपालिकाले दाबी छ  ।

सो बमोजिम खोलानालामा हुने उत्खनन तथा  अतिक्रमणजस्ता कार्य नियन्त्रण गरी देशभरि सन्देश प्रभाव गर्न योजना बनाएर कार्य बढाएइको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिए ।

जलवायु परिवर्तन समकालीन अन्तर्राष्ट्रिय मुद्दा हो । नेपालका चाँदी झैँ टल्कने सेता हिमालमा परेको प्रभाव महसुस गरी यस विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन सन् २००९ डिसेम्बर ६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

खोलाजन्य प्राकृतिक साधन स्रोतको अतिक्रमण र दोहन पनि राष्ट्रिय सरोकारको विषय बनेको छ । यसलाई मध्यनजर गर्दै अतिक्रमणको शिकार बनेको अरुणखोलाको किनारमा नगर कार्यपालिकाको बैठक बसी प्राकृतिक स्रोत साधनलाई पूर्ण संरक्षण गर्ने अभियान शुरुवात्समेत गरेको कार्यालयले जनाएको  छ  ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ मा कूल रु ४० करोड  ८५ लाख ८३ हजार बराबर खर्च गर्ने लक्ष्य लिएको  छ  ।

कार्यालयका अनुसार यस नगरपालिकाको समग्र विकास निर्माणसहित चौतर्फी विकासका लागि सो बजेट खर्च गर्ने लक्ष्य लिइएको हो । चालू आवको हालसम्म कूल रकममध्ये  पूँजीगत खर्च १३ दशमलव २४ प्रतिशत र सशर्ततर्फ ७४ दशमलव ६२ प्रतिशत र चालूमा २६ दशमलव ३० प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सेढार्इंले जानकारी  दिए ।

विशेषगरी नगरपालिकाको विकास निर्माणसहित चौतर्फी विकासका लागि गुरुयोजना बनाएर कार्य गरिरहेको नगर प्रमुख रानाले जानकारी दिए   ।

यसैगरी सो नगरपालिकाले देशभर सरसफाइको सन्देश प्रभाव गर्न  नवलपरासीको बर्दघाट सुस्ता पूर्वदेखि हेटौँडासम्म क्षेत्रको फोहरमैला उचित र दिगो व्यवस्थापनका लागि महत्वपूर्ण योजना बनाउने तयारी गरेको  छ  ।

उक्त नगरपालिकाले १५ वटै वडामा शुद्ध खानेपानी विस्तार, सरकारी स्वामित्वका संस्थामार्फत निःशुल्क औषधि उपचार प्रदान गर्ने काम गरिरहेको जनाएको  छ  ।

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खोलामा विद्युतीय माध्यम वा विषादी प्रयोग गरी माछा मार्ने कार्यलाई नियन्त्रण गर्न अभियान चलाएको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्