बीमा शुल्क आधा घटाउने व्यवस्था हुँदै



काठमाडौँ : सरकारले बीमा शुल्क आधाले घटाउने तयारी गरेको छ । हाल संशोधनको अवस्थामा रहेको बीमा ऐनमा बीमा शुल्क आधाले घटाउने तयारी गरिएको हो । उक्त नियम लागू भएपछि बीमा कम्पनीहरुले बीमा समितिलाई बुझाउने सेवा शुल्क ५० प्रतिशतले घट्ने भएको छ । हालसम्म बीमा कम्पनीले कुल प्रिमियमको १ प्रतिशत सेवा शुल्क बीमा समितिलाई बुझाउँदै आएका छन् ।

वाफिया मोडेलमा ल्याउने तयारी गरिएको तयार गरिएको नयाँ बीमा ऐनको मस्र्यौदामा त्यस्तो सेवा शुल्कलाई घटाएर शुन्य दशमलव ५० प्रतिशत बनाउन प्रस्ताव गरिएको हो । नयाँ नियम लागु भएपछि बीमा कम्पनीको खर्च पनि कम हुने छ ।

समितिले २०६३ सालमै तयार पारेको नयाँ बीमा ऐनको मस्यौदामा सेवा शुल्क आधा प्रतिशत प्रस्ताव गरेको थियो । समितिको अध्यक्षमा चिरञ्जीवी चापागाईँ नियुक्त भएपछि ऐन निर्माणको प्रक्रियाले केहि तिब्रता पाएको छ । यद्यपी ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बनेपछि भने छलफल फेरी सुस्ताएको छ ।
‘हामीले ऐनको मस्यौदामा सेवा शुल्क ५० प्रतिशत प्रस्ताव गरेका छौं, अर्थ मन्त्रालयमा त्यसबारे थप छलफल भैरहेको थियो, नयाँ अर्थमन्त्री आएपछि फेरी छलफल रोकिएको छ’, बीमा समितिका नियमन विभाग प्रमुख शाम्बराज लामिछानेले भने ।

समितिले मस्यौदामा जीवन र निर्जिवन दुबै खाले बीमा कम्पनीसँग कुल प्रीमियमको आधा प्रतिशत सेवा शुल्क उठाउने प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयले भने शुन्य दशमलव २५ प्रतिशत बनाउनु पर्ने अडान राखेको छ ।

बीमा क्षेत्रको बजारमा व्यापक वृद्धि भएकाले समितिले पाउने सेवा शुल्क घटाउने प्रस्ताव अघि सारिएको लामिछानेले बताए । ‘बीमा क्षेत्रको बजार व्यापक बढेको छ, सेवा शुल्क घटाउनुपर्छ भन्ने बीमा कम्पनीहरुको माग अनुसार नै ०.५० प्रस्ताव गरेका हौं तर अर्थ मन्त्रालयले भने शुन्य दशमलव २५ प्रतिशत बनाउनुपर्ने भनिरहेको छ, के गर्ने भन्ने कुरा संसदको हातमा छ’, लामिछानेले भने । बीमा समितिको बीमा कोषमा हाल १ अर्ब ९५ करोड रुपैंयाँ बचत रहेको छ ।

सोही कोषको रकमबाट समितिको कार्यालय सञ्चालन, कर्मचारीको तलब भत्ता, क्षमता अभिवृद्धि लगायतका सम्पुर्ण कार्य सञ्चालन हुने गरेको छ । बीमा कोषमा सेवा शुल्क, बीमा कम्पनीहरुको दर्ता नविकरण शुल्क वापतको रकम समावेश हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्