‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना बनाउनुपर्ने’



०८ बैशाख २०७६, काठमाडौँ

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उहाँले देशभरकै नमूना ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो ।

महानिरीक्षक खनालले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताले मनोबल बढेको भन्दै अझै राम्रो सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “ट्राफिक प्रहरीले चालकलाई गर्ने व्यवहार नम्र र शालीन हुनुपर्छ, हाम्रो सेवाले जनतालाई मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीनमहीने कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । हाल काठमाडौँ उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन तथा काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारी साधन गुड्छन् ।

प्रतिक्रिया दिनुहोस्