विवशताको जिन्दगी बिताउन बाध्य छन् पुखबहादुर (भिडियो सहित)



०७ बैशाख २०७६, धनकुटा

लाउँलाउँ खाउँखाउँको यूवा उमेरमै शारिरिक अशक्तताले घरदलानको चौ घेरामै विवशताको जिन्दगी बिताउनु पर्ने नियती कति दुःखदायी हुँदो हो ? रहर र उत्साहले भरिएको १६ बर्षे स्कुले उमेरमै थला परेर अरुको सहारामा बाच्नुपर्ने अत्यास लाग्दो जिन्दगीको केवल हामी कल्पना मात्र्र गर्न सक्छौं ।

धनकुटाको शहिद भूमी गाउँपालिका वडा नम्वर एक बाहुनी टोलका २५ बर्षीय पुखबहादुर खड्का विगत नौ वर्षदेखि यस्तै सकसपूर्ण जिन्दगी बिताउन बाध्य छन् । बिजुलीको झड्कामा परेर शरिरको आधा भाग नचल्ने भएपछि पुखबहादुरका लागि दलान र चुहिने छाप्राको खाँबो नै संसार भएको छ ।

करेन्ट लागेर सख्त घाइते भएपछि उपचारका लागि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान त पुर्याइयो तर घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि आवश्यक खर्चको जोहो हुन सकेन् । उपचार पाए स्वास्थ्यमा सुधार हुने सल्लाह पाए पनि विपन्नताले राम्रो अस्पताल सम्म पुग्न नसकेको पिडा पुखबहादुर शब्दमा ब्यक्त गर्न सक्दैनन् ।

उपचार नपाएकै कारण अहिले उनको कम्मर भन्दा मुनिको भाग चल्न छाडेको छ । आफैं खान समेत सक्दैनन् । दिसापिसाव गर्न शौचालय जान सक्ने अवस्था छैन् । गम्भीर प्रकृतिका विरामी र आर्थिक रुपमा विपन्न नागरिकलाई सरकारी उपचार सुविधा उपलब्ध हुने सुनेका पुखबहादुर त्यस्तो सेवा पाउन नसकेकोमा भने खिन्न छन् । शरिरसँगै अब त उनको आवाज र हाउभाउमा समेत नकारात्मक असर देखिदै गएको छ ।

कम उत्पादन हुने भिरालो जमिनमा टाटिले बारेको सानो छाप्रोमा नावालक दुई बहिनी, भाइ र आमाबुवाको गुजारा जसोतसो चलेको छ । नौ बर्ष देखि थला परेका पुखबहादुरको जीवन प्रतिको भरोषा भने टुटेको छैन् ।

प्रतिक्रिया दिनुहोस्