गौतमबुद्ध विमानस्थल नयाँ इतिहास कोर्दै, तीन सातामै परीक्षण उडान



०७ बैशाख २०७६, काठमाडौं

भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसो टर्मिनल भवनको ट्रस्ट राख्ने काम भइरहेको थियो । ‘हेभी इकुमेन्ट’बाट फलामका विभिन्न सामानमाथि लैजाने काम धमाधम भइरहेको थियो । यस्तै रनवेको पिचको काम पनि चलिरहेकै थियो । विमानस्थल निर्माणको काम करिब अन्तिम अवस्थामा पुग्दा कामदारदेखि कर्मचारीसम्म उत्साहित अवस्थामा देखिन्थे ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकताका साथ अघि बढाएको गौतमबुद्ध विमानस्थलको भौतिक पूर्वाधारको काम करिब ७५ प्रतिशत सकिएको छ ।

पूर्वाधार निर्माणको ८२-८३ प्रतिशत काम सकिएपछि विमानस्थलमा परीक्षण उडान गर्न सकिने छ । विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले बीचमा कुनै प्राविधिक समस्या नआए करिब तीन सातामा विमानस्थल परीक्षण उडानका लागि तयार हुने रातोपाटीलाई जानकारी दिए । यद्यपि, परीक्षण उडान कहिले गर्ने विषयमा व्यवस्थापन पक्षले निर्णय लिनेछ ।

आयोजना एक प्राविधिकले विमानस्थलको रनवे पिचको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै भने, ‘पिच गर्दा पानीले डिस्टर्ब गरेन भने अबको तीन हप्तामा सकिन्छ ।’ विमानस्थलको टर्मिनल निर्माणको जिम्मा भारतीय कम्पनी जमिल स्टललाई दिइएको छ ।

अब के-के काम बाँकी छ ?
विमानस्थल निर्माण आयोजना प्रमुख अधिकारीले धावन मार्गमा अन्तिम तहको कालोपत्रे केही दिनमा सकिन्छ । यस्तै पानी ट्याङ्की बनाउने काम पनि बाँकी छ ।

यस्तै कन्ट्रोल टावरको एक तला पनि निर्माणको क्रममा रहेको अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘७ वटा तला पूरा भएका छन् । ८औँ तलाको काम बाँकी रहेकाले त्यो पनि युद्धस्तरमा भइरहेको छ ।’

उडान र अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान हुन पनि बाँकी रहेको छ । उनका अनुसार परीक्षण उडान गरेपछि पनि पेन्टिङ र लाइटिङको काम गर्न सकिन्छ । अर्को रनवेको दुई लेबलतिर ३०, ३० मिटर छाडेर लाइट जाडन गर्नुपर्छ जसले रातिको समयमा विमान चल्न साथ दिन्छ । यस्तै ट्याक्सी वेको काम पनि भइरहेको छ ।

विमानस्थलको ८२, ८३ प्रतिशत काम सकिएपछि परीक्षण उडान गर्न सकिन्छ । गौतमबुद्ध विमानस्थल पनि करिब तीन हप्तामा त्यो अवस्थामा आइपुग्ने अधिकारीले दोहोर्याए । यद्यपि परीक्षण उडानपछि पनि अन्य कामको लागि केही समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्