उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री



०६ बैशाख २०७६, काठमाडौं

खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागिरहेको बताईन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भने, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’

जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको बताईन् ।

भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिईन् । वार्षिकोत्सव समारोहमा बोर्डको परिसरमा रहेको पोखरीमा माछा हालेर र बेलुन उडाएर उहाँले कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पुर्याउन सरकार लागिरहेको जानकारी दिए । सचिव शर्माले भने,

‘उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाईरहेका छन् । दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । ९० प्रतिशत जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पुर्याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको जानकारी दिए । उपत्यका भित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैंयाहरुको संरक्षण र सम्बर्द्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्