बाइसधारा मेलामा बिहानैदेखि भक्तजनहरुको भीड !



०६ बैशाख २०७६,काठमाडौंं

हिन्दू तथा बौद्ध धर्मावलम्बी दुबैको आस्थाको केन्द्रको रुपमा रहेको बालाजुस्थित प्राचीन धार्मिक स्थल बाइसधारामा मेला लागेको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन मेला लाग्ने परम्पराअनुसार यस वर्ष पनि शुक्रबार (आज) मेला लागेको हो ।

मेलामा काठमाडौं उपत्यकासँगै वरपरका क्षेत्रबाट स्नान गर्न आईपुगेका भक्तजनहरुको शुक्रबार बिहानैदेखि भीड लागेको छ ।

काठमाडौं उपत्यकाको नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा आजको दिन स्नान गरी नारायणको दर्शन गरेमा मुक्तिनाथ र गोसाइकुण्ड बराबर पुण्य मिल्ने धार्मिक विश्वास छ ।

लुतोलगायत चर्म रोग पनि यहाँ स्नान गर्दा निको हुने भक्तजनहरुको विश्वास छ ।

नेपाल संवत ८७५ (विसं १८१२) मा कान्तिपुरका राजा जय प्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा विसं १८५५  मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्