प्रधानमन्त्रीद्वारा समता स्कुललाई ‘वर्ल्ड बुक अफ रेकर्डस्’ हस्तान्तरण



०२ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।

आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगाएको बताएका थिए ।

‘राज्यले लिनु पर्ने दायित्व तपाईंहरूले लिनुभएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने,‘अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरूका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।’

प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए ।
प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने समेत स्पष्ट पारेका थिए । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्