अक्सफोर्डका प्राध्यापक भन्छन्, ‘संस्कृत युरोपेली र भारतीय भाषालाई जोड्ने माध्यम हो’



०२ बैशाख २०७६, काठमाडौं

संस्कृतलाई एशिया र युरोपमा बोलिने धेरै भाषाको मूल भाषा मानिन्छ ।

संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थहरूमा पूर्वीय सभ्यता र ज्ञानको भण्डार भएको स्वीकार्दै संसारका ठूला विश्वविद्यालयहरूले यसबारे अध्ययन तथा अनुसन्धान गरिरहेका छन् ।

त्यस्तै अध्ययन, अध्यापन र अनुसन्धान हुने यूकेको युनिभर्सटी अफ अक्सफोर्डमा नेपालका दिवाकर आचार्य पूर्वीय धर्म र नीति पढाउँछन् ।

उनको रुचि भारतीय उपमहाद्वीपमा उत्पन्न धर्म र दार्शनिक विचार, नेपाल तथा दक्षिण एशियाको प्रारम्भिक इतिहास आदि विषयमा छ । प्रस्तुत छ उनको धारणा ।

युरोपेली र भारतीय भाषा जोड्ने माध्यम
संस्कृत इन्डोयुरोपेली भाषा परिवारको पुरानो भाषा हो । योभन्दा पुरानो अर्को भाषाको केही अवशेष चाहिँ हिटाइट भाषामा छ जुन टर्की्तिर भेटिएको छ ।

अन्यथा साहित्यको हिसाबले ऋग्वेद नै सबैभन्दा पुरानो इन्डोयुरोपेली भाषाको प्रामाणिक ग्रन्थ हो । युरोपेली र भारतीय भाषाहरूलाई जोड्ने माध्यम संस्कृत हो ।

ग्रीक, ल्याटिन पुरानो शास्त्रीय भाषा भए । तुलना गरेर हेर्दा ती संस्कृतसँग एकदमै नजिक छन् । तिनको व्याकरण पनि नजिक छ ।

कतिपय शब्दावली,जस्तै अङ्ग्रेजीमा मदर, संस्कृतमा मातर हुन्छ, जर्मनमा मुटर हुन्छ । ती माथि गएर एकै ठाउँमा जोडिन्छम् ।

जर्मन, ग्रीक, ल्याटिन र संस्कृत भाषाबीच समानता निकै धेरै छ, साझा शब्द धेरै छन् । जर्मन र फ्रेन्च ल्याटिनबाट आएका भए पनि सबै सेल्टिक भाषाहरू माथि गएर एउटै मूलमा जोडिन्छन् ।

सबै भाषाको संस्कृतसँग नसा जोडिएको हुन्छ । कुनै प्रस्ट रूपमा देख्न सकिन्छ । सिस्टर (अङ्ग्रेजी), स्वेष्टर (जर्मन), स्वश्री भनिन्छ संस्कृतमा ।

केही शब्दमा ठ्याक्क देख्न सकिने, अनुमान गर्न सकिने हुन्छ । त्योभन्दा पर परिवर्तित भएर गइसकेको हुन्छ ।

अन्यथा ’लोनवर्ड’ (आगतन्तुक शब्द) बाहेक सबै इन्डो युरोपेलीभाषाहरू जोडिनु नै पर्छ ।

संस्कृतको उत्पत्ति, प्रयोग र विस्तार
भारतीय उपमहाद्वीपमा संस्कृतलाई देवभाषा र वेदको भाषा मानिन्छ । त्यो त विश्वासको कुरा भयो । यसअघि भनेको चाहिँ इतिहासको कुरा हो ।

प्राचीन कालमा इन्डोयुरोपेलीहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दै कोही पूर्व लागे त कोही पश्चिम लागे । समय र परिस्थितिअनुसार भाषा बदलिँदै गयो । संस्कृतबाट पाली, प्राकृत, दार्जिक भाषाहरू हुँदै नेपाली र हिन्दीसम्म आइपुग्यो ।

संस्कृत किन खुम्चिन पुग्यो
एक ढङ्गबाट हेर्ने हो भने हामी अहिले जे बोलिरहेका छौँ त्यो पनि संस्कृत हो ।

चीनमा चलेको सबै भाषालाई उनीहरूले चिनियाँ भाषा भन्छन् । शास्त्रीय चिनियाँ होस् या आधुनिक चिनियाँ… ।

तर संस्कृतबाट विकास हुँदै गएका भाषालाई हामीले संस्कृत भनेनौँ । एक हिसाबले संस्कृत नेपाली, नेवारी, हिन्दी, मैथिली भाषामा जीवित छ । त्यसरी हेर्दा संस्कृत सर्वत्र छ ।

अहिले भने यो भाषा अध्ययन अध्यापनमा मात्रै सीमित भएको देखिन्छ । अर्कोतर्फ नेपालको हिसाबले हेर्ने हो भने धार्मिक चलन र कर्मकाण्डमा सीमित छ ।

खासमा संस्कृत भाषा होइन । हामीकहाँ आधुनिक शिक्षा आउनुभन्दा अगाडि सबै ज्ञानपरम्परा त्यही भाषा अथवा त्यो भाषाबाट निस्केका पाली, प्राकृतजस्ता भाषामा लेखिएका थिए ।

तर संस्कृतको अध्ययन गर्ने भनेको खासमा यो ज्ञानपरम्पराको अध्ययन गर्ने हो ।

व्यावहारिक प्रयोग र सीमितता
व्यवहारको भाषा भए नयाँ ज्ञानपरम्पराको सिर्जना हुनुपर्छ भन्ने तर्क उचित हो । तर म यो क्रम धेरै अगाडिदेखि टुटेको देख्छु ।

जस्तो तिब्बतीहरूलाई हेर्नूस् । उनीहरूले बौद्ध धर्मदर्शनको परम्परा मात्र होइन त्योभन्दा पर गएर काव्य, अलङ्कार, कामशास्त्र, आयुर्वेद सबैलाई जमानामा पहिलो सहश्राब्दीबाटै थालेर संस्कृतका सामग्री आफ्नो भाषामा अनुवाद गरेका छन् ।

त्योभन्दा पहिले चिनियाँहरूले तिनै सामग्रीलाई आफ्नो भाषामा अनुवाद गरेका छन् । उनीहरूकहाँ त्यो ग्रहण गर्ने क्षमता देखिन्छ ।

हामीकहाँ यस्तो खालको ग्रहणक्षमता पाचौँ-छैटौँ शताब्दीबाटै बन्द भएको देखिन्छ ।

“हामी विश्वका गुरु हौँ, हामीले सिकाउनुपर्छ“ भन्छौँ । हामी अरूबाट लिने, आफूलाई समृद्ध गर्ने, संस्कृतलाई अझ बढी ज्ञान भण्डारको रूपमा बढाउने जाने त्यो क्रम टुटेको छ ।

त्यसले गर्दा पनि संस्कृत सीमित र सङ्कुचित हुँदै गएको हो ।

संस्कृत अझै खुम्चिएला कि फैलिएला
विस्तारै मानिसहरू २०६३ सालपछि बढी धार्मिक र संस्कृततिर लगाव राख्ने हुँदैछन् । त्यो एक किसिमले राम्रो पनि हो, एक किसिमले अलिकति समस्याकारी पनि हो । धर्मसंस्कृतिको हिसाबले गुरुकुलहरू प्रशस्त खुलेका छन् ।

तर ज्ञानपरम्परालाई आत्मसात् गर्ने, जीवनशैलीका लागि त्यसले कसरी योगदान गर्न सक्छ भन्नेतिर ध्यान राम्ररी पुगेको छैन कि ।

गुरुकुल मात्रै होइन नि, नेपालमा त संस्कृत विश्वविद्यालय नै छ ।संस्कृत विश्वविद्यालयमा पहिले म केही किसिमले संलग्न पनि थिएँ ।

अहिले देख्दा त संस्कृत विश्वविद्यालयको अध्ययन अनुसन्धानको प्रवृत्तिमै ह्रास भएको देख्छु ।

युरोपका विश्वविद्यालयमा संस्कृत
विश्वविद्यालय भनेपछि त्यहाँ विश्वका सबै किसिमका ज्ञानका विधाहरूको पढाइ हुनुपर्छ भन्ने भावना हो र त्यसलाई पाश्चात्य देशमा विश्वविद्यालयहरूले कार्यान्वयन गरेका छन् ।

हामीकहाँ भएको साधनस्रोत र मानवस्रोत जसरी पश्चिमले लगिरहेको छ, त्यसरी नै उनीहरू यहाँ अध्ययन, अनुसन्धान गरेर त्यसबाट केही राम्रो कुरा निस्क्यो भने उनीहरूले त्यसलाई विश्वव्यापीकरण गर्न पाउँछन् ।

अझ त्यसभन्दा बढी व्यापारीकरण गर्न पाउँछन् । अब ती सबै कुरा पृष्ठभूमिमा छन् । संसारभरिका विभिन्न ज्ञानका विधाहरू र विभिन्न दृष्टिकोणबाट ती सबै कुराको अध्ययन गर्नुपर्छ भन्ने भावना उनीहरूमा छ ।

नेपालमा संस्कृतका प्राचीन ग्रन्थ
नेपालमा हजारौँ ग्रन्थ अझै पनि ग्रन्थालय र अभिलेखालयहरूमा छन् । ग्रन्थ सम्पत्तिको हिसाबले पश्चिमको तुलनामा हामी धेरै धनी छौँ ।

हाम्रो राष्ट्रिय अभिलेखालयमा लगभग ३६ हजार संस्कृतका ग्रन्थहरू छन् । प्रतिलिपिबाहेक चारपाँच हजार मौलिक पाण्डुलिपि छन् ।

तीमध्ये कतिपय ग्रन्थमा कसैले खोजी नगरेको वा पत्ता नै नलगाएका सामग्री छन् । नेपाल(जर्मन म्यानुस्क्रिप्ट प्रिजर्भेशनअन्तर्गत हामीले ५२ लाख फोलियोस माइक्रोफिल्म गरेका छौँ । राष्ट्रिय अभिलेखालयमा ३६ हजार र केशर पुस्तकालयका आठ/नौ हजार थिए ।

बाँकी त घरघरमा गएर जर्मनहरूले प्रतिपृष्ठ केही मात्रामा रोयल्टी दिएर माइक्रोफिल्म गरेर राखेका छन् । एक प्रति जर्मनीमा छ भने एक प्रति यहाँ ।

अबको आवश्यकता
हाम्रो सफलता देखेर भारतमा पनि न्याश्नल म्यानुस्क्रिप्ट मिशन, इन्दिरा गान्धी आर्ट सेन्टरबाट हस्तलिखित ग्रन्थहरूको संरक्षण गर्न स्क्यानिङ माइक्रोफिल्म गर्ने काम भयो ।

अध्ययन गरेर तिनको वास्तविक विवरण, अप्रकाशित विवरणहरू बाहिर निकाल्ने काम बाँकी छ । त्यो पश्चिमाहरूले गरेर हुँदै हुँदैन ।पश्चिममा दुई/चारजना मान्छेहरू होलान् । तर पूर्वीय विश्वमा पनि प्रशस्त हामीकहाँ यहाँ हराइसकेका ग्रन्थ छन् ।

त्यसैले यतातिरै भारतमा वा चीनमा वा जापानमा यहीँ नै बढीभन्दा बढी हामीलाई मानिसहरूको स्रोतको आवश्यकता छ ।

ती ग्रन्थहरू सम्पादन गरेर बाहिर ल्याउँदा अझ धेरै नयाँ कुरा आउँछन् । बीबीसी (प्राध्यापक दिवाकर आचार्यसँग बीबीसी नेपाली सेवाकी रमा पराजुलीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्