झापामा सुबिधा सम्पन्न अस्पताल



०२ बैशाख २०७५, झापा

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरको अस्पतालको रुपमा संचालनमा ल्याउन ७२ कोठे भवनको निर्माण सम्पन्न भएको छ ।

स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउने तयारी भएसँगै अस्पतालको भवन निर्माण गरिएको हो । सरकारी लगानीमा तयार गरिएको यो नगरकै पहिलो अस्पताल हो । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई १५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने सरकारको तयारीसँगै भ्याटबाहेक ५ करोड ५२ लाख रुपैयाँको लागतमा अस्पताल सञ्चालनका लागि भवन तयार गरिएको हो । सामान्य उपचारका लागि बिर्तामोड लगायतका निजी अस्पताल जानु परिरहेका बेला आफ्नै ठाउँमा सुविधा सम्पन्न अस्पताल संचालनमा आउन लाग्दा स्थानीय समेत खुशी भएका छन् ।

२०७२ साल चैत १० गते सुरु भएको निर्माण निर्धारित समयमै सकेर यही वैशाख पहिलो साताभित्र भवन स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने निर्माण व्यवसायी जनकराज तिमल्सिनाले जानकारी दिनुभयो ।

अस्पताल संचालनका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारको निर्माण सकिएसँगै आवश्यक जनशक्ती, उपकरण र व्यवस्थापनको कार्य तिव्र पारिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्