मलेसियाको रोजगारी चाँडै खुल्छ : नवनियुक्त राजदुत पाण्डे



१४ चैत २०७५, जिफन्ट मलेशिया

२५ मार्च २०१९ गते मलेसियाका लागि नव नियुक्त नेपाली राजदूत उदयराज पाण्डेले ९ महिनादेखि रोकिएको मलेसियन रोजगारी चाँडै खुल्न सक्ने बताएका छन् ।

नेपाली प्रवासी श्रमिक संघ (मजदुर संगठन) जिफन्ट मलेसियाद्वारा दुतावासको बैठक हलमा  स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राजदुत पाण्डेले दुवै देशबीच केही विषयका कारण मलेसियामा रोजगार नखुलेको बताए ।

नेपाली दुतावास मलेसिया सबै संघ, संस्थाहरुसँग श्रमिकहरुको हितको लागि सहकार्य गर्न दूतावास सकारात्मक रहनुका साथै जिफन्ट मलेसियाका अध्यक्ष प्रेम कुमार मगरले मलेसिया प्रवासी श्रमिकहरुको चाप कम गराउने उद्देश्यले श्रम नीतिमा उदारता ल्याएकोमा केहि समयका लागि नेपाली श्रम बजार मलेशियामा समस्या उत्पन्न भएको बताए ।

जिफन्ट मलेशिया संयोजक तथा एस एम एस हेल्पलाइन डेक्स बि डब्लु आइका इन्चार्ज बेद्कुमार खतिवडाले जिफन्ट मजदुर संगठनको संगठन परिचालन, काम र गतिबिधि साथै संस्थाको मुख्य उद्देश्य बारे प्रष्ट पार्दै  नव नियुक्त राजदुत पाण्डे आएपछि आफुहरुले धेरै आशा राखेको बताउँदै छिट्टै मलेसिया पुन:रोजगारी नेपाली कामदारका लागि खुल्न कुटनीतिक पहलको आवश्यकता रहेको जानकारी गराए ।

कार्यक्रममा जिफन्ट मजदुर संगठन मलेसियाका केन्द्रिय संयोजक, केन्द्रिय अध्यक्ष , केन्द्रीय सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला कमिटि केन्द्रिय अध्यक्ष, केन्द्रिय महिला उपाध्यक्ष, राज्य कमिटिका प्रमुखहरु लगायतले आ–आफ्नो भनाई राख्दै नवनियुक्त राजदुत उदयराज पाण्डेलाई स्वागत सहित खादा साथै ढाका टोपीलगाई  कार्यकाल सफलताको कामना व्यक्त गरेका थिए ।

नवनियुक्त राजदूत पाण्डेले आफ्नो स्वागतका लागि जिफन्ट मलेशियालाई धन्यवाद ज्ञापन गर्दै बिदेशमा रोजगारीका शिलशिलामा कार्यरत नेपाली श्रमिकहरुको  हितमा विभिन्न संघसंस्थाहरु सक्रिय हुनुलाई दूतावासले सकारात्मक रुपमा लिने बताए । विदेशमा रहेका नेपालीहरु र स्वदेशी नेपालीहरुको हरेक समस्याहरुको समाधानको निमित्त विभिन्न संगठनहरुको निकै महत्वपूर्ण भूमिका रहन्छ भन्दै राजदुत पाण्डेले व्यक्तिको पहलले भन्दा संगठनको पहलले हरेक काम सहज र सरल ढंगले सम्पन्न हुनसक्ने धारणा राखेका थिए ।

राजदूत पाण्डेले दूतावास क्वालालम्पुरमा अवस्थित भएकोले दूतावासले वरिपरिको क्षेत्र सजिलै समेट्न सके पनि टाढाका क्षेत्रहरुमा विशेष भूमिका निर्वाह गर्न कठिन परिरहेको अवस्थामा संघ, सस्थाहरु र संस्थाका प्रतिनिधिहरुसँग राजदूतावासले समन्वय र सहकार्य गरी त्यहाँका नेपालीहरुको विभिन्न समस्याहरुलाई समाधान गर्न विशेष पहल तथा सहयोगी भूमिका खेलिदिए धेरै सजिलो हुने र पीडितले चाँडै उद्धार र सहयोग पाउने आशा व्यक्त गरेका थिए ।

सबै नेपालीहरुको समस्या र गुनासाहरुलाई बढीभन्दा बढी सम्बोधन गर्ने प्रयास गरिरहेको छ । तसर्थ, आफुलाई परेका समस्याहरु दूतावाससमक्ष लिएर आउनुहोस । हामीले जतिसक्दो छिटो तपाईहरुको समस्या समाधान गर्न विशेष पहल गर्ने छौ’, राजदुत पाण्डेले भने ।

राजदुत पाण्डेले दूतावासले कोही कसैसँग पनि भेदभावपूर्ण काम नगर्ने बताउँदै सबै व्यक्तिहरुलाई समान महत्वले हेर्ने र सबै संघसंस्थाहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्न दूतावास हरदम तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्