‘माया लुकिलुकी’ले युट्युवमा पायो ५ करोड भ्युज



११ चैत २०७५, काठमाडौं/लीलानाथ घिमिरे

गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएका छन् । प्रसाइले गाएको ‘माया लुकी लुकी…’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ ।

फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो । यसअघि गायिका प्रसाइकै ‘नाई मलाई था छैन…’ ले यस्तो रेकर्ड राखेको थियो । उक्त गीतले ३ करोड ६६ लाखभन्दा बढी भ्युज पाएको छ । युट्युवमा धेरै भ्युज पाउने ननफिल्मी नेपाली गीतको पहिलो रेकर्ड प्रसाइकै नाममा थियो भने उनकै अर्को गीतले त्यही रेकर्डलाई तोडेर ५ करोडभन्दा बढी दर्शक पाएको हो ।

‘माया लुकीलुकी… ’ गायिका प्रसाईंले ९ महिनाअघि आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी थिइन् । उक्त गीतले ५ महिनादेखि ननफिल्मी गीतसंगीतको क्षेत्रमा सबैभन्दा बढी युट्युव भ्युज पाउने गीत बनिरहन सफल भएको छ । उक्त गीतले थुप्रै अवार्डसमेत जितेको थियो ।

गायिका प्रसाइका अनुसार यसगीतले रेडियो कान्तिपुर नेशनल अवार्ड २०७५ मा सवोत्क्कृष्ट पप गायिका, इमेज अवार्ड २०७५ मा पब्लिक च्वाइस अवाडए, कालिका एफएम अवार्ड २०७५ मा सर्वोत्कृष्ट पप गायिका र सर्वाेत्कृष्ट अभिनय अवार्ड जितेको थियो । उक्त गीतमा शब्द आनन्द अधिकारी र संगीत आशिष अविरलको छ । गीतको भिडियो द कार्टून क्रिउले निर्माण गरेको हो ।

टीका प्रसाईं युवा पुस्तकी लोकप्रिय गायिका हुन् । उनका ती दुवै गीतमा दर्जनौ ब्यक्ति र समुहले नृत्य गरेर युट्ययुवमा भिडियो अपलोड गरेका छन् । ती भिडियोसमेत जोड्दा उनको गीत हेर्नेको संख्या थप करोडौं हुन्छ । ‘माया लुकीलुकी…’ गायिका प्रसाइले एक्लै गाएकी हुन् । यसअघि रेकर्ड भ्युज पाएको ‘नाई मलाई था छैन…’ गीतमा गायिका प्रसाईंलाई गायक सञ्जीव पराजुलीले साथ दिएका छन् ।

गायिका प्रसाइले संजिव पराजुलीसँग गाएको अर्को गीत ‘कर्के नजर…’ ले पनि उनका धेरै भ्युज पाउने दुई गीतलाई पछ्याइरहेका छ । दुई महिनाअघि अपलोड गरिएको उक्त गीतले अहिलेसम्म ८२ लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

आफ्नै गीतले कायम गरेको रेकर्ड अर्को गीतले ब्रेक गरेपछि गायिका प्रसाईं निकै उत्साहित भएकी छन् । ‘मेरो गीतको प्रतिस्पर्धी आफ्नै गीत भएको छ, उनले भनिन्, ‘अब मलाई पहिलेको भन्दा उत्कृष्ट गीत कसरी बजारमा ल्याउने चुनौती थपिँदै गएको छ । उनको ५ करोड भ्युज पाएको गीत स्वदेशमा मात्र हैन, विदेशी भाषामा समेत डब भएका छन् । ‘यसको भाकालाई मन पराएर हिन्दी, अंग्रेजीलगायतका भाषामा गीत गाएर भिडियो युट्युवमा अपलोड भएका छन्,’ गायिका प्रसाइले भनिन्, ‘नेपाली गीत नेपालमा मात्र सीमित भएको छैन, अन्तराष्ट्रिय बजारमा यसले आफ्नो स्थान लिएको छ । सबै नेपाली संगीत प्रेमीहरुका लागि यो खुशीको कुरा हो ।’

गायिका प्रसाइले २०५८ सालमा पहिलो पटक ‘के गर्नु हो तिम्रो कसम.. ’ र ‘तिम्रो दिलको कुनाकानी… ’ गरी एकै पटक दुई रेकर्ड गराएकी थिइन् । उनले २०६० सालदेखि चलचित्र र कलेक्सन एल्बममा गीत गाउन थालिन् । अहिलेसम्म उनका ४ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्