प्रदेश/संघीय संसदको झल्को दिनेगरी बूढानीलकण्ठ नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न



११ चैत २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको आ.ब. २०७५/०७६ को हिउँदे नगरसभा गत शनिबार बूनपा–८ स्थित के.एफ.सी. फूड ल्याण्ड गोल्फुटारमा सम्पन्न भएको छ ।

अघिल्ला नगरसभा भन्दा निकै व्यवस्थित देखिएको तेश्रो नगरसभामा प्रदेश सभा, सल्लाहकार समिति, नगरकार्यपालिका, नगरसभा सदस्यहरु सहित विभिन्न समितिमा क्रियाशील स्थानीय समाजसेवीहरु र पत्रकारहरुलाई समेत छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको थियो ।

कार्यपालिका बैठकको निर्णय अनुसार नगरसभामा प्रदेश र केन्द्रमा मन्त्रीको हैसियत जस्तै नगरसभामा विभिन्न ६ समितिका संयोजकहरुले आफ्नो प्रतिवेदन पेश गरेका थिए । जसमा बूनपा वडा नं. ३ का अध्यक्ष तथा पूर्वाधार विकास समितिकाका संयोजक बालकृष्ण श्रेष्ठ आफ्नो प्रतिवेदन पेश गर्दै २०७५/०७६ काम गर्ने वर्ष र २०७६/२०७७ धपक्क बल्ने वर्ष हुने उल्लेख गर्दै समितिका १९ बैठक बसेका र ८० निर्णय गरेको भएपनि केहि मात्र कार्यान्वयन भएको जानकारी गराए ।

त्यसैगरी बूनपा वडा नं. १२ का वडाध्यक्ष तथा सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक शम्भु प्रसाद भट्टराईले आफ्नो प्रतिवेदन पेश गर्दै स्थानीय सरकारको रुपमा रहेको वर्तमान वडा कार्यालयले हिजोको गा.वि.स. जत्तिको अधिकारसम्म नभएको भन्दै जनताको काम गर्न असहज भएको बताए । देशकै ठूलो जनसंख्या भएको नगरपालिका भएपनि आवश्यक कर्मचारीको अभावले जनताको काम छिटो छरितो रुपमा सम्पन्न हुन नसकेको जानकारी गराउँदै संवैधानिक अधिकारको प्रयोग गरी स्थानीय स्तरमा कर्मचारी नियुक्त गरेर भएपनि जनताले पाउने सेवा सुविधालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बूनपा वडा नं. १ का वडाध्यक्ष तथा वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सुरेन्द्र लामाले दैवीप्रकोपको कारणले प्रभावित नगरवासीलाई समितिको पहलमा प्रदान गरिएको आर्थिक र भौतिक सहयोगको विवरण प्रस्तुत गरे ।

त्यसैगरी कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिकी संयोजक दुर्गा थापाले आफ्नो समितिको निर्णय अनुसार नगरपालिकाले विकास निर्माणको काम गरिरहेको बताईन् ।

बूनपा वडा नं. ९ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक राजेन्द्र प्रसाद सापकोटाले शुरुका दिनमा समिति दिएको सुझाव अनुसार बजेट विनियोजन नभएकोले वर्तमान समयमा समिति गतिशील नभएको जानकारी गराए । सार्वजनिक विद्यालयको शैक्षिक अवस्थालाई प्रभावकारी बनाउन आगामी वर्षदेखि नगरभित्रका केहि विद्यालयलाई नमूना विद्यालयको रुपमा छानेर नगरका मोडेल विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

कार्यपालिका सदस्य तथा विधेयक समिति संयोजक सुकुलाल सुनार (संगम गहतराज) ले समितिले गरेका कामको जानकारी दिदै १६ कार्यविधि बनाई राजपत्रमा प्रकाशित गरिसकेको, ५ कार्यविधि समितिबाट पास भई छलफलको चरणमा रहेको र अन्य ५ कार्यविधि प्रारम्भिक चरणमा रहेको जानकारी दिए ।

बूनपा १२ का वडा सदस्य तथा लेखा समिति संयोजक पुरुषोत्तम नेपालले नगरसभाले पासगरेको बजेट, भएको नीति नियम र त्यसको कार्यान्वयनमा देखिएको कमजोरी जानकारी दिँदै आगामी समयमा नगरपालिकाले गर्नुपर्ने कामको विषयमा लेखा समितिको प्रष्ट सुझाव दिएका थिए ।

नगर सभामा प्रस्तुत विभिन्न समितिका प्रतिवेदनमा हात उठाएर आफ्नो धारणा राख्न सभाध्यक्ष उद्धव प्रसाद खरेलले समय दिएकोमा सदस्यहरु भुव प्रसाद रेग्मी, ज्ञानु कार्की, माधव पौडेलले आ–आफ्नो जिज्ञासा तथा सुझाव दिएका थिए ।

नगर सभामा आफ्नो विचार राख्दै उप–प्रमुख रमादेवी राईले नगरपालिकाले रोजगारी सिर्जना गर्न नसकेको भन्दै गरेका कामको र नगरपालिकाले दिने सेवा /सुविधाको प्रभावकारी प्रचारप्रसारको अभाव रहेकोले त्यसतर्फ आगामी दिनमा ध्यान दिनुपर्ने बताईन् ।

नगर सभामा अध्यक्ष नगरप्रमुख उद्धव प्रसाद खरेलले नगरपालिकाले गरेका र गर्ने योजनाहरुको जानकारी दिँदै आगामी वर्षदेखि नगरपालिकाले विकास निर्माणमा निकै गति लिने जानकारी तथ्यपरक रुपमा राखेका थिए ।

समितिका संयोजकहरु अरुलाई दोष देखाएर आफू बच्ने दाउमा
मन्त्रीको हैसियतमा प्रतिवेदन पेश गर्ने विभिन्न समितिका संयोजकहरुको प्रतिवेदन निकै कमजोर थियो । ३ जना वडाध्यक्षहरुको प्रस्तुति तुलनात्मक रुपमा निकै  कमजोर देखियो । दिएको जिम्मेवारी भन्दा अन्य विषयमा केन्द्रित भएर समितिका संयोजकहरुले आफ्नो धारणा राखिरहेका थिए । सबैजसो समितिका संयोजकहरुले आफूले गरेका काम भन्दा पनि गुनासो राख्नमा नै धेरै समय बिताएका थिए । ६ मध्ये ३ समितिका संयोजक वडाध्यक्षहरुको प्रस्तुति तुलनात्मक रुपमा कमजोर थियो । समिति संयोजक वडाध्यक्षहरु मध्ये तुलनात्मक रुपमा वातावरण तथा विपद् समितिको प्रतिवेदन विषय केन्द्रीत थियो यद्धपी उनले समेत विपद्लाई मात्र आफ्नो प्रतिवेदनमा केन्द्रीत गरे ।

समितिका सबैजसो प्रतिवेदन कमजोर रहँदा विधेयक समितिको काम पास मार्क ल्याउने खालको थियो भने लेखा समितिको प्रतिवेदनले डिस्टिङसन मार्क ल्याउने थियो । वा विधेयक समिति र लेखा समितिका प्रतिवेदन र काम राम्रो देखिए पनि नगरपालिकामा अन्य जननिर्वाचितको काम प्रशंसनीय वा पास मार्क ल्याउने खालको समेत थिएन ।

नगरसभामा समितिको हैसियत निकै प्रभावकारी हुन्छ । स्थायी मन्त्रीको हैसियतमा रहेका अधिकांश संयोजक निकै कमजोर सावित भए । नगर सरकारले मात्र कार्यपालिका, व्यवस्थापिका र न्यापालिकाको भूमिका निर्वाह गर्ने हैसियत राख्छ ।  प्रदेश र संघमा मन्त्रीको हैसियतमा जिम्मेवारी पाउनेहरुको जिम्मेवारी मुख्यमन्त्री वा प्रधानमन्त्रीको हातमा हुन्छ । त्यसैले उनीहरु मुख्यमन्त्री वा प्रधानमन्त्री प्रति बढी जवाफदेही हुनुपर्ने बाध्यता छ ।

नगरपालिकाको जिम्मेवारीमा रहने समितिका संयोजकहरुले आफ्नो जिम्मेवारी र हैसियत नबुझेर हो वा काम गर्ने ईच्छा शक्ति नभएर उनीहरुलाई हटाउने हैसियत न त नगरप्रमुखलाई छ न नगरसभालाई । आफैँ कार्यकारी तहमा रहेका वडाध्यक्षहरु समेत नगर सभामा गरेका कामको चर्चा र प्रगति सुनाउनुपर्नेमा गुनासो गर्न मै केन्द्रीत थिए । त्यसैले प्रतिवेदन र जिम्मेवारीलाई भन्दा भाषण र गुनासोलाई स्थान दिए ।

नगरसभामा बोल्ने प्रदेश सभा सदस्यको एउटै स्वर
करिब ४ घण्टा चलेको तेश्रो नगरसभामा नगरपालिका भित्र पर्ने प्रदेशका सभाका सबैजसो सदस्यहरुलाई निमन्त्रणा गरिएकोमा प्रदेशसभा सदस्य दिपक निरौंला, न्हुच्छे नारायण श्रेष्ठ, कुसुम कुमार कार्की र सीता लामा उपस्थित थिए । नगर सभा चल्दै गर्दा प्रदेश सभा सदस्य दिपक निरौलाले अर्को कार्यक्रममा जानुपर्ने बाध्यताले बिचमै बोल्ने अनुमति मागे तर सभाध्यक्षले तालिकामा हेरफेर नगरेपछि उनी बोल्दै नबोली सभाबाट बाहिरिए । प्रदेश सभा सदस्य कुसुम कुमार कार्कीले आफ्नो विचार राख्ने क्रममा प्रदेशको काम कारवाहीको जानकारी दिँदै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । अर्का प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठले नगरपालिकाको विकास निर्माणमा आफूले पुर्याएको योगदानको चर्चामै सबैजसो समय विताए ।

नगर सभामा नेकपाको बहुमत छ । प्रदेशमा नेकपा र नेपाली कांग्रेसको मिश्रित उपस्थिति छ । तर सभामा बोल्ने नेकपाबाट निर्वाचित कुसुम कुमार कार्की र नेपाली काँग्रेसबाट निर्वाचित न्हुच्छे नारायण श्रेष्ठको विचार एकै किसिमको सुनियो । दुबैको प्रस्तुति विपक्षी जस्तै थियो ।

दुबैले बोल्दा आफूहरुलाई नगरपालिकाले बेवास्ता गरेको बताए । भाषणमा प्रदेश सभाका श्रेष्ठले हुनत म मात्रै विपक्षी हैन कुसुमजी समेत पार्टी भित्रकै विपक्षी हो भन्दा मंचको अघिल्लो भागमा बसेका सांसद कार्की खित्का छोडेर हाँस्दा नेकपाबाट निर्वाचित अधिकांश नगरसभा सदस्यहरुले अँध्यारो मुख लगाएका देखिन्थे ।

नगर सभाको संचालन प्रशासकीय अधिकृत एकनाथ  बास्तोलाले गरेका थिए भने समायोजनपछि भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले स्वागत गर्दै सभाको संचालन तरिकाबारे जानकारी गराएका थिए ।

कार्यक्रम समापनमा सभाध्यक्ष तथा नगरप्रमुख उद्धव प्रसाद खरेलले नगरसभालाई गुनासो गर्ने थलोको रुपमा भन्दा नीति निर्माण र विकासमा छलफल गर्ने फोरम बनाउनुपर्नेमा जोड दिए । सवै समितिका संयोजकहरुले दिएको सुझावको आधारमा आफू चल्ने भन्दै आफ्नो समितिलाई गतिशिल बनाउन संयोजकहरुलाई अनुरोध गरे ।

प्रदेश सभा सदस्यहरुले मन्तव्यको क्रममा नगरविकासमा आफूले भूमिका नपाएको बताएपछि नगरप्रमुख खरेलले जुनसुकै समयमा प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्दै विकास निर्माणको लागि जस्तोसुकै सहकार्य गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।

प्रदेश सभा सदस्यहरुलाई नगर सभामा बोलाउनुपर्ने कानुनी व्यवस्था नभएपनि सहकार्य र समन्वयलाई अगाडि बढाउन प्रदेश सभालाई विशेष सम्मान गरेको समेत नगप्रमुख खरेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्