प्रमुख निर्वाचन आयुक्त डा. यादवले आजबाट लिए अवकाश !



१० चैत्र २०७५, काठमाडौं

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आईतबार (आज)बाट अवकाश लिएका छन् ।

२०६३ सालयता दुई कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी निर्वाह गरिसकेका प्रमुख निर्वाचन आयुक्त यादवले आजबाट अवकाश लिएका हुन् ।

यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा एक कार्यक्रमकाबीच विदाई गरिएको छ ।

विदाई समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए ।

अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन छोटो समयमै सम्पन्न गराउन अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादव सफल भएका हुन् ।

उनले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाएका थिए ।

यादवको अवकाशसँगै कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्