कोरिया जान फारम भर्ने युवाहरुको घुँइचो, २०१९ को लागि १० हजार कामदारको माग



९ चैत २०७५, काठमाडौ

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेसँगै देशभरिका बैँकहरूमा युवाहरुको घुँईचो बढेको छ । हिजो एकैदिन मात्रै ५५ हजार युवाले आवेदन दिएका छन् ।

न खाई, न निदाई युवाहरू लाइन लागेको देख्दा स्वदेशमा रोजगारी सृजना नभएको भन्दै एकातर्फ सरकारको आलोचना भएको छ भने अर्कोतर्फ युवाहरु कोरिया पुगेपछिको योजनाका बारेमा पनि प्रष्ट छैनन् । काठमाडौँको सुन्धारा, बानेश्वर, ठमेललगायत विभिन्न ठाउँका वैँकहरूमा सयौँ युवाहरु कोरिएन भाषा परीक्षाको लागि आवेदन भर्न तछाडमछाड गरिरहेका छन् ।

अस्ति मध्यरातिदेखि नै आवेदन खुल्यो । कोरिया जान पाइयो भने राम्रो आम्दानी गर्ने र भविष्य सुनिश्चित हुने विश्वास युवाहरूको छ । काभ्रेका २० वर्षीय केशव ओली पनि त्यही लाइनमा भेटिनुभएको थियो । सिन्धुलीका विकास महत कोरिया जानको लागि काठमाण्डौँ बसेको चार महिना भयो । १९ वर्षको समय पढ्ने, लेख्ने र आफ्नै खुट्टामा उभिन जग बनाउने भए पनि विकासलाई जसरी पनि कोरिया जाने हतारो छ । सरकाले रोजगारी सिर्जना गर्ने बताइरहँदा विदेशको सीमित मागमा असीमित सङख्याका युवा लामबद्ध हुन्छन् ।

दक्षजनशक्ति नभएका कारण नेपालमा रोजगारी सिर्जना गर्न गाह्रो भयो भन्नुहुन्छ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट । १८ वर्ष पूरा भएका र ३९ वर्ष ननाघेका युवा कोरिया जान योग्य मानिन्छन् । त्यसअनुसार ६० हजारभन्दा बढी युवा त्यहाँ पुगिसके । सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ । वैदेशिक रोजगारीप्रतिको आकर्षण यतिका देखिनुमा मुलुकमा रोजगारीको सम्भावना नभएरै हो ?

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ युवाहरुको धेरै कमाउने चाहना र देशमा बढेको निराशाले युवालाई विदेश जान प्रेरित गरेको बताउनुहुन्छ । वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष हुने गरेका छन् ।

सरकारले यसवर्ष मात्रै सीपमूलक तालिम सञ्चालनका लागि ७ अर्बभन्दा धेरै रकम खर्च गर्दैछ । रोजगारीका अवसर सिर्जना गर्ने घोषणा सरकारले एकातर्फ गरेको छ । तर दक्ष जनशक्ति श्रम बजारमा नआउँदा रोजगारी सिर्जा गर्ने सरकारको घोषणा कार्यान्वयनमा समस्या देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्