एक घर एक धाराले ल्यायो खुशी



०९ चैत २०७५, पाल्पा

माथागढी गाउँपालिका–३, कसेनी गाउँका ५११ घरमा पानीका धारा जडान गरिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । एक घर एक धारा जडान गरेसँगै खानेपानीको वर्षौदेखिको खाने पानीका लागि घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउन समयमा पढ्ने अवसर मिलेको छ ।

कसेनीका ५०८ घर, दुई विद्यालय र एक संस्थामा ५११ धारा जडान गरिएको हो । रु ७२ लाख ७१ हजार आर्थिक सहयोग र २१ लाख बराबर उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष टीकाराम रानाले बताउनुभयो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र सामाजिक स्रोत विकास केन्द्र नेपालको प्राविधिक सहयोगमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीय बासिन्दा खानेपानी समस्या हटेपछि गाउँले खुशी भएका हुन् ।

बजार क्षेत्रमा साँझ, बिहान पानी धारामा आउने र अन्य ग्रामीण क्षेत्रमा दिनभर पानी धारामा छाड्ने गरेको अध्यक्ष रानाले बताउनुभयो । पानी बोक्ने समय अन्य काम गर्न पाएपछि महिला र बालबालिकाको कार्यबोझ कम भएको छ ।

विसं २०७३ असार १५ गतेदेखि शुरु भएको आयोजना २०७५ जेठमा सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ । खानेपानीको सुविधा पाएपछि घरभित्र र बाहिर सरसफाइमा परिर्वतन आएको छ ।

पानी वितरण तथा मर्मतसम्भारका लागि तीन जनालाई ग्रामीण मर्मत सम्भारकर्ता राखिएको छ । पानीको उपभोग गरेवापत न्यूनतम खानेपानी उपभोक्ता समितिलाई मासिक रु ५० तिर्नुपर्ने व्यवस्था मिलाइएको सामाजिक स्रोत विकास केन्द्र नेपालका निर्देशक चोपलाल गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्