सडक निर्माणमा एसएसबीको अवरोध



०८ चैत २०७५, भीमदत्तनगर

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित आफ्नै भूमिमा सडक निर्माण गर्ने क्रममा आज भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ ।

सीमा प्रहरी चौकी ब्रह्मदेवका प्रमुख प्रहरी नायब निरीक्षक जनकबहादुर कार्कीले एसएसबीले नेपाल–भारतको विवादित भूमि रहेको दाबी गर्दै सडक निर्माणमा अवरोध गरेको जानकारी दिनुभयो । टनकपुर ब्यारेजदेखि नेपालको सिमानासम्म यसअघि भारतले सडक निर्माण गरिसकेको छ ।

टनकपुर ब्यारेजबाट ब्रह्मदेव बजार आउने उक्त सडक कालोपत्रे गर्न भीमदत्तनगरपालिकाले रु ४३ लाखका ठेक्का सम्झौता गरेको थियो । “हामीले अरुको भूमिमा सडक कालोपत्रे गर्न बोलपत्र गर्ने कुरै आउँदैन ।” भीमदत्तनगरपालिकाका इञ्जिनीयर जयराज भट्टले भन्नुभयो, “ठेक्काअनुरुप निर्माण कम्पनी काम शुरु गर्न त्यहाँ गएको हो ।”

सडक निर्माणका लागि ब्रह्मदेव (निर्माणक्षेत्र) पुगेको न्यू जोशी निर्माण सेवाले काम शुरु गर्न डोजरको प्रयोग गर्दा अवरोध गरेका हुन् । ब्रह्मदेव सीमा प्रहरी चौकीले दुई देशबीचको संयुक्त सीमा बैठकबाट उक्त क्षेत्रकोबारेमा रहेको समस्याको समाधान खोज्न एसएसबीले आग्रह गरेको जानकारी दिएको छ ।

केही महीनाअघि पनि सोही क्षेत्रमा नेपाली भूमिसम्म पुगेर भारतीय पक्षले सडक निर्माण गर्न खोज्दा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्