विश्वमा १ अर्बभन्दा धेरै फिचर फोनको बिक्री हुने !



०७ चैत्र २०७५, काठमाडौँ

आउँदो ३ वर्षभित्रमा विश्वमा १ अर्बभन्दा धेरै फिचर फोनको बिक्री हुनेछ । जसबाट विश्वमा करीब १६ अर्ब डलर बराबरको आम्दानी हुनेछ ।

काउन्टर प्वाइन्ट रिसर्चको पछिल्लो रिपोर्टले स्मार्टफोनको यो युगमा पनि किप्याडवाला मोबाइल फोन अर्थात् फिचर फोनप्रति मानिसहरुको लगाव बढ्दै गएको देखाएको हो ।

रिपोर्ट अनुसार, फिचर फोनको बिक्रीको मामिलामा भारत सबैभन्दा अगाडि रहनेछ । भारतपछि बंगलादेश र नाइजेरियामा सबैभन्दा धेरै यी मोबाइल फोन बिक्नेछन् ।

गत वर्ष सन् २०१८ मा विश्वका  बजारमा पहिलोपटक स्मार्टफोनको बजारमा सुस्तता देखापरेको छ । जबकि फिचर फोनको बजार पछिल्लो ३ वर्षदेखि लगातार वृद्धि भइरहेको छ ।

यो वर्ष सन् २०१९ मा विश्वभर ४० करोडभन्दा धेरै फिचर फोन बिक्री हुने अनुमान गरिएको छ ।

काउन्टर प्वाइन्ट रिसर्चका अनुसन्धान निर्देशक पिटर रिसर्डसनले भनेका छन्, ‘आउँदो ३ वर्षमा १ अर्बभन्दा धेरै विश्वव्यापी फिचर फोनको बिक्रीमा भारत तथा मध्यपूर्वी अफ्रिका क्षेत्रको संयुक्त हिस्सेदारी ८० करोड गोटा फोन हुनेछ ।’

फिचर फोनको विश्वव्यापी बिक्री सन् २०२१ सम्ममा १ अर्ब गोटा हुने विश्वास गरिएको छ । भारतमा फिचर फोनको दमदार वृद्धिदरको कारण नोकियाको फिचर फोनको पुनरुत्थान तथा जियो फोनको लोकप्रियता मुख्य रुपमा रहेको छ ।

विश्वमा अहिले पनि ३ अर्बभन्दा धेरै मानिस दैनिक अढाइ डलरभन्दा कम आयबाट गुज्रिरहेका छन् । यो वर्ग स्मार्टफोन तथा मोबाइल डाटाको खर्च व्यहोर्न नसक्ने अवस्थामा छ । यस्तोमा आधारभूत मोबाइल सेबा मात्र दिने फिचर फोन ती समुदायको सञ्चार सम्पर्कको पहिलो माध्यमको रुपमा रहन्छ । यसका अलावा फोर जी क्षमतायुक्त फिचर फोनले पनि समग्र फिचर फोन सेग्मेन्टको वृद्धिमा सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्