रंगले भौतिक शरिर फेरिएजस्तै मनहरु पनि सदा फेरिईरहुन् ! शुभकामना !!



०६ चैत्र २०७५, काठमाडौं

होली नेपाली तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ ।

हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलीकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा(युवतीहरू गीत गाउँदै(नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित मिल्छन् ।

यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर(विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होलीको इतिहास

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।

हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन ।

त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलीका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिईन्)

दाजुको आदेश अनुसार होलीका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलीका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलीका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

होली किवंदन्ती–

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलीकालाई प्रल्हादलाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलीका जलेर नष्ट भै असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्बको अघिल्लो दिन त्यही होलीका बनाई दहन गरी मनाइने गरिएको पर्व हो ।

नेपालमा होली

फागु पूर्णिमा अनी होली भनिने यो चाड नेपालमा हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो चाड असाध्य धुमधाम गरी, अरु ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइन्छ । होलीको अघिल्लो साझ नेपालको वसन्तपुर दरवार अगाडि होलीका दहनु गरेर यस चाडको सुरुवात गरिन्छ ।

हिरण्यकश्यपुकी बहिनी होलीकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा (पह्लाद)लाई मार्न अग्नि नजिक जादा होलीका आँफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रुपमा यो पर्व मनाइन्छ ।

हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ ।

नेपालको विशेष सहरहरु काठमाडौं, पोखरा, धरान, चितवन, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङहरुको बर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ ।

नेपालका गाँउहरुमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर लगायत रङ लगाउने चलन हुन्छ। होलीले विभिन्न खालका विक्रितिविसंगति पनि भित्र्याएको छ ।

होलीमा आजका युवाहरु अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मानिदैन । नेपालका मुख्य शहरहरुमा होलीकोलागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ।

अन्य देशहरूमा होली

अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आ(आफ्नै तरिकाले होली पर्व मनाइन्छ ।

नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ । यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ ।

तराईमा भने भोलिपल्ट होली खेलिन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ–आफ्नै प्रकारले यो पर्व मनाइन्छ ।

होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ। नेवारी संस्कृतिमा होलीका बारेमा युवा–युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् ।

होलीको सन्दर्भमा गाईएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन् ।

भारत

होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् श्रीकृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ ।

गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाब, मध्य प्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ ।

त्यसमा पनि गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले पहार गर्ने होली) निकै लोकप्रिय छ ।

धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुर्व्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो । किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए ।

प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम छ । छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ ।

त्यहाँको जोगिरा गायन अर्थात् जोगिरा सरर… पूरा एसियामा लोकप्रिय छ।

पाकिस्तान

पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ ।

भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घर(आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ ।

पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ। प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।

बङ्गलादेश

बङ्गलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो ।

यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुसलमान समुदायका मानिसहरू बसोबास गर्छन् । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् ।

हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ ।

बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।

गायना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ ।

यहाँ पानी, रङ र गीत–संगीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ ।

त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदा समेत दिइन्छ। पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।

बेलायत

बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ–आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ ।

यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ ।

ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् ।

विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ।

मौरिसस

अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन् ।

यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ । यहाँ पनि होलीका दहन गर्ने चलन छ । एक आपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ ।

साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ ।

फिजी

फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ । राधा र श्रीकृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ ।

यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसम भरिनै होली गीतहरू गाइन्छ ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ ।

विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ । दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।

सुरिनाम

सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन् ।

त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ ।

साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ ।

अमेरिका

अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ ।

यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलन अनुसार होली मनाउने गरेका छन् । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ ।

आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो ।

अन्त्यमा !

होली पर्व मनाउने तपाई तमाममा होलीका शुभकामना !!

प्रतिक्रिया दिनुहोस्