‘पहुँचबाहिर परेकाहरुलाई समेट्ने’ उद्देश्यकासाथ काठमाडौंमा परिवार योजना सम्मेलन सुरु !



०४ चैत्र २०७५, काठमाडौं

‘पहुँचबाहिर परेकाहरुलाई समेट्ने’ उद्देश्यले राष्ट्रिय परिवार योजना सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

सम्मेलनको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गरेका छन् ।

सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको आयोजनामा सुरु भएको हो । सम्मेलन उद्घाटन गर्दै मन्त्री यादवले सम्मेलनले पहुँच बाहिर रहेका मानिसहरुलाई समेट्ने बताए ।

सरकार र निजी क्षेत्रको प्रभावकारी समन्वय भएमा नेपालले परिवार नियोजनमा राखेको दिगो लक्ष्य हासिल गर्न सकिने उनले बताए। नेपालले परिवार नियोजन प्रयोग दर ७५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा आरपी विच्छाले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा परिवार नियोजनको कार्यक्रम सुरु भएको ६ दशक पुग्दा ठूलो उपलब्धी हासिल गरेको बताए ।

उनले भने, ‘१९७६ को प्रजनन् दरको तथ्यांक हेर्ने हो भने ६ दशमलव ३ प्रतिशत थियो भने २०१६ मा आइपुग्दा २ दशमलव ३ मा झरेको छ । तर, यो उपलब्धि सन्तोषजनक छैन ।’

सम्मेलनमा २४ वटा पेपर प्रस्तुत हुने छन् भने २८ वटा पोस्टरको प्रस्तुति र चार प्लेनरी सत्र समावेश हुनेछन्। त्यस्तै देशभरबाट लगभग ४ सय जना सरोकारावालाको सहभागिता रहेको छ। सम्मलेलन भोलिसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्