सुशासनको बाटो तर्फ बूढानीलकण्ठ नगरपालिका (भिडियो सहित)



०३ चैत २०७५, काठमाडौं

कर्मचारी र जनप्रतिनिधिहरुले छिटो छरितो सेवा नदिएको गुनासोपछि नगरप्रमुख उद्धव खरेलको निर्देशनमा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ११ मा छड्के जाँच भएको छ ।

सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक/वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराई, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी, समितिका सदस्य तथा जनप्रतिनिधिहरु चन्द्रमान श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सहित राजस्व शाखा प्रमुख अच्युत खड्का सहितको टोलीले आज विहान कार्यालय समय अगावै छड्के जाँच गरेका थिए ।

बूढानीलकण्ठ नगरपापालिकाद्वारा वडा नं. ११ मा गरिएको छड्के जाँचको भिडियो

छड्के जाँचको क्रममा लेखिएको सुझावमा कार्यालय सहयोगी ९:४५ मा आउनुपर्ने, कर्मचारीहरु १०:२० सम्म कार्यालय आउनुपर्ने, कर्मचारीको विवरण वडाध्यक्ष र सचिवको नियन्त्रणमा रहनुपर्ने, कर्मचारीले अध्यक्षलाई जानकारी गरेर मात्र विदा बस्ने, ढिलो आउने र छिटो जाने उचित कारण भएमा अध्यक्षको अनुमतिले मात्र त्यसो गर्नुपर्ने, जिन्सी सामानहरुको लागत विवरण तीन दिन नगरपालिकालाई जानकारी गराउने, सामाजिक सुरक्षा व्यवस्थित हुनुपर्ने, लगतकट्टा गरेर राख्नुपर्ने, वडा समितिको बैठक मासिक रुपमा राखी राजस्व मासिक समयमा अनुमोदित गर्नुपर्ने, रद्ध भएको रसिद वडा समितिमा अनुमोदन गर्नुपर्ने, कार्यालयबाट छिटो छरितो मुस्कान सहितको सेवा प्रदान गर्नुपर्ने लिखित सुझाव दिएको छ ।

छ्ड्के जाँचको क्रममा वडाध्यक्ष राजु अधिकारी कार्यालय समय (१०:०० बजे) आईपुगेको भेटियो । कार्यालय सहयोगी र दुई कर्मचारी मात्र दश बजे कार्यालयमा उपस्थित थिए । १०:२० सम्म आएका कर्मचारीलाई छड्के जाँचमा हाजिर गर्न दिईएको थियो । केही कर्मचारीहरु कार्यालयमा हाजिर नगरी कार्यालयकै काममा बाहिर गएको समेत पाईयो ।

बूढानीलकण्ठ ११ मा रहेको कपन स्वास्थ्य चौकी ईन्चार्ज कामदेव आचार्यले नेपाल सरकारले तोकेको कार्यालय समयको मापदण्ड हदैसम्म उल्लङ्घन गरेको पाईयो । वडाध्यक्ष राजु अधिकारीले समेत पटक–पटक गरेको अनुरोध र चेतावनीलाई समेत वेवास्ता गर्दै निरन्तर अनुपस्थित रहने र कार्यालय आएको दिनमा पनि दुई घण्टा नबसी बाहिर निस्कने गरेको जानकारी गराए ।

वडाध्यक्ष अधिकारीले समिति समक्ष गुनासो पेटीको व्यवस्था गर्नुपर्ने, फिङ्गर प्रिन्टलाई प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्यको ईन्चार्ज फेर्नुपर्ने र कर्मचारीलाई तालिमको व्यवस्था हुनुपर्ने माग राखे ।

स्वास्थ्य शाखामा रहेका १२ कर्मचारी मध्ये दुई जना कर्मचारी मात्र कार्यालय समयमा उपस्थित थिए भने दुई कर्मचारी हाजिर नै नगरी कार्यालयको काममा अफिस बाहिर गएका थिए । १२ जनाको दरवन्दी भई तलब बुझिरहने स्वास्थ्य चौकीका अरु ८ जना कर्मचारी अनुगमन अवधिभर (११:३० सम्म) कार्यालयमा आएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्