‘होर्डिङ बोर्ड’ले कुरूप बन्दै इटहरी !



३० फागुन २०७५, इटहरी

प्रदेश १ को राजधानीको रूपमा आफूलाई दाबी गरिरहेको तथा नगर सरकारको नेतृत्व गरिरहेका सरकार प्रमुखले आफ्ना भाषणमा पर्यटकीय नगरीका रूपमा विकास गर्ने भन्ने गरेको इटहरी बजार व्यापारिक ‘होडिङ बोर्ड’का कारण कुरूप बन्दै गएको छ ।

तीव्र रूपमा भएको जनसङ्ख्या वृद्धि र त्यससँगै बढेको व्यापारलाई प्रवर्द्धन गर्न जथाभाबी राखिएका ‘होडिङ बोर्ड’का कारण इटहरी कुरूप बन्दै गएको हो ।

व्यवसाय प्रचारप्रसारको लागि जथाभाबी बोर्डिङ राखिँदा सहरी सौन्दर्यता बिग्रनुका साथै दुर्घटनाको जोखिमसमेत उत्तिकै बढेको छ । व्यवसायमा प्रतिस्पर्धा गर्नकै लागि मापदण्डको समेत ख्याल नगरी बोर्डिङ बोर्ड राख्ने क्रम रोकिएको छैन। शैक्षिक तथा वित्तीय संस्था, मदिरा, मोबाइल, सिमेन्ट लगायतका विभिन्न कम्पनीहरूको बोर्डिङ बोर्डले इटहरीको मुख्य तथा भित्री चोकहरू ढाकेको छ ।

निजी जग्गामा भाडा तिरेर राखिएको भए पनि सवारीसाधनमा हिँड्ने र पैदल यात्रीको ध्यान खिच्न ठड्याइएका ठुल्ठुला बोर्डिङ बोर्डले दुर्घटनाको जोखिम बढाएको स्थानीयहरू बताउँछन् । बोर्डिङ बोर्डले सवारी चालकको ध्यान मोड्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने स्थानीय सरोज श्रेष्ठले बताए ।

अव्यवस्थित रूपमा राखिएका बोर्डिङ बोर्ड हटाउनु पर्ने स्थानीयको माग छ। स्थानीय तहको चुनावअघि नगर प्रमुखले व्यवस्थित नगर बनाउने आश्वासन दिए पनि त्यसका लागि कुनै पहल नगरेको स्थानीयले गुनासो गरे । नगर क्षेत्रमा बोर्डिङ बोर्ड हटाएर व्यवस्थित गर्नु पर्ने उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टले बताए ।

‘उद्योगी व्यवसायीले विज्ञापन, प्रचारप्रसार नगर्ने भन्ने कुरा होइन । यसलाई व्यवस्थित गरिनुपर्छ । सहरको सौन्दर्य नै बिग्रने गरी राख्न उचित होइन,’ उनले भने, ‘बरु यसका लागि कुनै निश्चित स्थान तोकेर, निश्चित आकारका बोर्ड राख्न सकिन्छ ।’

सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश नं. १ का ट्राफिक प्रहरी कार्यालयको पनि बोर्डिङ बोर्डले सवारी चालकलाई असर पार्ने भनाई छ । ‘कुनै समय हामीले राजमार्गमा भएका बोर्डको व्यवस्थापन गरेका थियौँ । तर अहिले यो सबै नगरपालिका मातहत भएकाले हामीले केही गर्न मिल्दैन,’ ट्राफिक इन्स्पेक्टर ढुण्डीराज गिरीले बताए । उनले भने, ‘नगरले राजमार्ग क्षेत्रका बोर्ड हटाउनुपर्छ । त्यसै पनि दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको छ ।’

उपमहानगरसँग भने बोर्डिङ बोर्ड हटाउन या व्यवस्थापन गर्नका लागि कुनै योजना छैन । नगरप्रमुख द्वारिकालाल चौधरी यो वर्ष होर्डिङ बोर्डको लागि नगरले नै ठेक्का लगाएको बताउँछन् ।

‘बोर्डिङ बोर्डले दुर्घटना बढ्छ, सहरको सौन्दर्यसमेत घटाउँछ,’ नगरप्रमुख चौधरीले नेपाली पब्लिकसँग भने, ‘जनतालाई आफूले दिएको वचन अनुसार नै अर्को वर्षदेखि सबैसँग छलफल गरेर यसलाई व्यवस्थित गछौँ।’ ‘तर यो वर्ष भर्ने व्यवसायइहरुसँग सहमति गरेर ठेक्का दिई सकिएकाले निर्णय उल्टाउन मिल्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्