शौचालयदेखि सदनसम्म नारीमैत्री स्वरहरु गुञ्जिरहुन्, सबै नारी स्वरुपमा शुभकामना !!



२४ फागुन २०७५, काठमाडौँ

आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाँको पछ्यौरीभित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् ।

आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ !

‘अन्तर्राष्ट्रिय नारी दिवस्’

 यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो । 

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ ।

संसारमा लैङ्गीक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् ।

तथापी नेपालमा पनि पछिल्लो समय नारीहरुप्रति देखाईने कु–सोचहरुलाई निर्मूल गरेको महसुस गर्न सकिन्छ ।

भन्न त नेपाललाई पितृसतात्मक राष्ट्र भनेर भन्ने चलन छ ।

तर, नेपाली समाजमा पछिल्लो समयमा भने, नारीप्रति हुने गरेको विभिन्न कुकर्महरु कम भएको पाईन्छ । जुन् नेपाली समाजमा जन्म लिएका नारीहरुको लागि खुशीको कुरा हो ।

आज संसारले यसअर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई वेवास्ता गर्न सक्दैन ।

कमजोर कानूनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गीक संरचनाका कारण दैनिक जसोका समाचारमा महिला हिंसाका सयौं घटनाहरु सुन्नमा आउँछन् ।

कति घटनाहरु कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाउन अनि दबाउन खोजिन्छ । अनि बाहिर आउन दिईदैँन ।

समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दिको यो स्टेजमा पनि नेपाली नारीहरुलाई एउटा बोक्सीको आरोपमा कूटपिट तथा मलमूत्र समेत खुवाईन्छ ।

फेरी नेपाली समाजमै चलेको एउटा उखान छ ।

“जहाँ नारी खुशी हुन्छिन्, जहाँ लक्ष्मी पनि रमाउँछन् ।”

तर लक्ष्मी पुजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिनुले देशमा नारी सम्मानको अनुभूति हुन दिदैँन । त्यसैले सबै नारीहरुप्रति समान सोच अनि व्यवहार हुन आवश्यक छ । जसले नेपालजस्तो विकासोन्मुख देशलाई शान्तिको आभाष गराउँछ ।

यसपटकको ‘नारी दिवस’ भने १०९ औं नारी दिवस हो ।

आज पनि देशैभरी नारी सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् ।

एकफेर सोचौं, हामीले हाम्रा दिदी-बहिनीहरुका लागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ?…., चाहे हामी महिला हौं या पुरुष, नारी समानताका लागि हाम्रो भूमिका उत्तिकै महत्वपूर्ण हुन जान्छ ।

शौचालय देखि सदनसम्म नारीमैत्री स्वरहरु गुञ्जियोस्,

नारी समानता भनेको नारी र पुरुषहरुबीचको टक्कर वा द्वन्द्व नभएर अगुवाई गरीरहेको सामाजिक संरचनाले तोकीदिएको महिला पुरुषबीचको विरोधाभाष परिधी, सीमा अनि समानतामा ठुलो दूरी हो ।

जसलाई युवा पुस्ताले मनन् गर्न सक्नुपर्छ ।

एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं, समानतालाई सहकार्यमा रुपान्तरण गरौं ।

देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दैआएकै छ ।

यसर्थ, सोचमा एक व्यवहारमा अर्को कहिल्यै नहोस् !

नारीहरु आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्वपूर्ण कारण हो ।

सुन्दरता अनि समानता दुबैको समानान्तर लहरहरु बढ्दै जाउन, तमाम आमा, हजुरआमा, दिदी–बहिनी समग्रमा नारीस्वरूपलाई १०९ औं ‘नारी दिवस’को शुभकामना !

प्रतिक्रिया दिनुहोस्