टिकाराम पुरीको नेतृत्वले मात्र नीजि विद्यालयका समस्या समाधान हुनसक्छ : गोपाल आचार्य (भिडियो सहित)



२० फागुन २०७५, काठमाडौं

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को केन्द्रीय महाअधिवेशन फागुन २८ र २९ गते काठमाडौंमा हुँदैछ । महाअधिवेशनको सन्दर्भमा परिवर्तनखबरकर्मी विश्व आचार्यले काठमाडौं जिल्ला कार्यसमितीका पूर्व अध्यक्ष गोपाल आचार्यसँग महाधिवेशनको विषयमा गरेको कुराकानी सारसंक्षेपको भिडियो :

नेपालमा नीजि विद्यालयहरुले शिक्षामा ठूलो लगानी गरेका छन् । फलस्वरूप हामीले लामो समयदेखि शिक्षा क्षेत्रको समग्र विकासका लागि विशेष योगदान गरिरहेका छौं । सरकारले सहयोग गर्नुपर्नेमा आज नीजि विद्यालयहरुले ठूलो चुनौतीको सामना गर्नुपरेको छ। भर्रखरै उच्च स्तरीय शिक्षा आयोगले दिएको प्रतिवेदन एकातिर छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कुरा पनि छ। दुवै नीतिगत नियमले नीजि विद्यालय संचालनका लागि अनावश्यक झमेला सिर्जना गरेको छ।

अझ डरलाग्दो पाटो त के छ भने राष्ट्रीय शिक्षा नीतिको मस्यौदा प्रतिवेदनले आगामी सात वर्षपछी नीजि विद्यालयहरु मास्ने परिकल्पना गरेको छ। जसले गर्दा सरकारले ल्याएका राम्रा कामहरुमा समेत आवद्ध हुन प्रश्न उठ्नु स्वाभाविक हो। नीजी विद्यालयको विषयमा विवादित शिक्षा नीतिलाई मान्ने वा विकल्प खोज्ने अवस्थाको विचमा प्याब्सन केन्द्रीय महाधिबेशन हुन गइरहेको छ । मलाई लाग्छ, आगामी नेतृत्व र प्याब्सनले ल्याउने एजेण्डा लगायतका बिषयवस्तुले गहन अर्थ राख्छ ।

त्यसैले हामीले आगामी कार्यकालको नेतृत्व लामो समय देखि नेपालको शिक्षा क्षेत्रमा क्रियाशील टिकाराम पुरीलाई गर्न अनुरोध गरेका छौं । मलाइ लाग्छ, उहाँले नीजि विद्यालय सम्बन्धी वर्तमान समस्यालाई समाधान गर्न सक्नुहुन्छ। पुरी सरको अनुभव, वर्तमान राजनीतिक मनोविज्ञान र सबै ठूला राजनीतिक नेतृत्वसँग उहाँको राम्रो सम्बन्ध रहेको कारणले गर्दा वर्तमान समस्यालाई लबिङ मार्फत समाधान गर्न सक्नुहुन्छ । त्यसैले हामीले उहाँकै नेतृत्वमा केन्द्रीय कार्यसमिति निर्माण गर्नुपर्छ तवमात्र हाम्रो वर्तमान समस्या समाधान हुनसक्छ भन्ने सम्पूर्ण प्रतिनिधि साथीहरुलाई मेरो अनुरोध छ।

म आफैं पनि लामो समयदेखि प्याब्सनको संस्थागत र पेशागत हकहितको लागि लडेको व्यक्ति हुँ । तपाई सबै प्याब्सनिष्ट मित्रहरुले मेरो काठमाडौंको नेतृत्व बुझिसक्नु भएको छ। धेरै शुभचिन्तकहरुले गोपाल सर अगाडी बढ्नुस् हामी तपाईलाई साथ दिन्छौं भन्नु भएको छ। त्यसैले काठमाडौंमा हुन गईरहेको १४ औँ महाधिवेशनमा खुल्ला तर्फ उपाध्यक्षको लागि उम्मेदवारी दिदैछु। मलाई विश्वास छ, तपाईहरुले सेवा गर्ने मौका दिनुहुनेछ ।

अहिले सबै नीजि विद्यालयहरु अप्ठ्यारो अवस्थामा रहेको कारण सम्भव भएसम्म सर्वसम्मत नेतृत्व निर्माण गर्नुपर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु । काठमाडौं जिल्ला भित्र रहेका सबै नगर कमिटी तथा जिल्ला कार्यसमितिमा हामीले सर्वसम्मत नेतृत्व निर्माण गर्न सफल भएका छौं । हामीले हाम्रो सहमतिको रफ्तारलाइ केन्द्रीय महाधिवेशनमा पनि निरन्तरता दिन सकियो भने एकताले हामीलाई निकै मजबुत बनाउनेछ। यसकारण हामीले केन्द्रीय नेतृत्व सर्वसम्मत गराउनमा नै भूमिका केन्द्रीत गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्