आफ्नै अपहरणको नाटक रचेर अभिभावकसँग पैसा असुली गर्ने प्रयास



०३ फागुन २०७५, काठमाडौँ

आफ्नै अपहरण भएको नाटक रचेर अभिभावकसँग पैसा लुट्न खोज्ने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका १७ बेलौनीका २२ वर्षीय अजयकुमार साह र उनका साथीहरु समसाद नदाफ र रौतहट गढीमाईका अरबिन्द यादव रहेका छन् ।

अजयले साथीसँग मिलेर अपहरणको नाटक गर्दै अभिभावकसँग १५ लाख ठग्ने कोसिस गर्दा प्रहरीको फन्दामा परेका हुन् ।

साथीको जन्मदिन पार्टीमा गएका अजय अपहरण भएको र मुक्त गर्नका लागि १५ लाखको व्यवस्था गर्नू भनेर अजयका अभिभावकलाई अरविन्दले फोन गरेपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

पाँच लाख फिरौती दिनेमा सहमति भएपछि काठमाडौंमा लुकेर बसेका तीनैजना बर्दिबासमा पैसा लिन आएपछि प्रहरीले पक्राउ गरेको होे ।

प्रहरीको जाँचबुझका क्रममा घटनाको मुख्य योजनाकार उनकै छोरा रहेको बजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

मुख्य योजनाकार साहले मोटरसाइकल किनेर भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको छानबिनमा खुल्न आएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हितसम्बन्धी मुद्दा लगाएर छानबिन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्