श्रीमद्भागवत महापुराण नेपालीमा (नवौं अध्याय)



।। श्रीगणेशाय नमः ।।
श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम्
श्रीमद्भागवतमहापुराणम्

अथ नवमोऽध्यायः
युधिष्ठिरसँग भेटपछि भीष्मको देहत्याग

सूतले भने-
प्रजाको विद्रोहबाट डराएपछि सबै धर्म जान्ने इच्छा भयो र भीष्म शरशøयामा ढलेका ठाउँमा राजा गए । त्यस बेला राम्रा घोडा, सुनले सजाएको रथमा उनी जाँदा भाइहरु, व्यास र धौम्य आदि पनि सँगै गए । अर्जुनसँगै रथमा भगवान् बसे । यक्षहरुका बीचमा बसेका कुबेर जस्तै भाइहरुका साथमा भएका राजा राम्रा देखिए । आकाशबाट ओर्लेका देवता जस्ता भीष्मलाई देखेर कृष्ण र अनुचरहरुसहित पाण्डवहरुले ढोगे । ती भरतवंशी वीरलाई हेर्न सबै ब्रह्मर्षि, देवर्षि, ठूला राजर्षि आए । पर्वत, नारद, धौम्य, बादरायण, बृहदश्व, भरद्वाज र परशुराम, वसिष्ठ, इन्द्रप्रमद, त्रित, गृत्समद, असित, कक्षीवान्, गौतम, अत्रि, कौशिक, कश्यप, अङ्गिरा आदि सबै अन्य मुनिहरु शिष्यसहित आए ।

तिनीहरु आएको देखेर देशकालको मर्म जान्ने, धर्मका ज्ञानी, भाग्यशाली वसूत्तम भीष्मले पूजा गरे । प्रभाव जानेका उनले माया शरीर लिएर उनका हृदयमा बसेका जगदीश्वर कृष्णलाई पनि पूजा गरे । प्रेमका करण नजिकै बसेका पाण्डुपुत्रहरुलाई अनुरागका आँसुले छोपिएका आँखाले उनले हेरे र भने- कस्तो अन्याय ¤ धर्मका पुत्र भईकन विप्र, धर्म र अच्युतको आश्रयमा रहे पनि तिमीहरु कष्टमा छौ । अतिरथी पाण्डु बितेपछि वधू पृथाले बालक छोराका लागि बारम्बार अनेकौँ दुःख पाइन् । बादलसमूहलाई हावाले घुमाएझैँ तिमीहरुलाई यस्तो सबै समयले अप्रिय गरेको हो भन्ने मान्छु । धर्मका पुत्र राजा, गदाधारी भीम, गाण्डीवधारी अर्जुन र हितैषि कृष्ण भएकै ठाउँमा यस्तो आपद् ।

विधिको इच्छा कुनै मानिसले जान्दैन । जान्ने इच्छा गर्ने विद्वान् पनि अल्मलिन्छन् । त्यसैले यो दैवतन्त्र हो भनी बुझौँ । उनकै अनुसरण गर्ने अनाथ प्रजालाई प्रभुले रक्षा गरुन् । यी पुरुष उनै साक्षात् आद्य नारायण भगवान् हुन् । आफ्नै मायाले लोकलाई भुल्याएर वृष्णिहरुमा लुकेर घुम्ने गर्दछन् । यिनको गोप्य भावलाई भगवान् शिव, देवर्षि नारद र साक्षात् भगवान् कपिलले जानेका छन् । तिमीहरु जसलाई मामापुत्र, प्रिय मित्र, सहृदयी मान्छौ र मन्त्री, दूत र हितैषि सारथी बनाएका छौ ती त सर्वात्मा, समदर्शी, अद्वितीय परमात्मा हुन् । यिनी अहङ्कारहीन, निरपेक्ष निष्पाप ईश्वरको कसैसँग कतै मति वैषम्य छैन ।

अनन्य भक्तहरुमा कृपा हेर, मैले प्राण त्याग्न लाग्दा साक्षात् कृष्ण दर्शन दिन आइपुगे । भक्तिपूर्वक नाम लिँदा भगवान् मनमा बस्छन् । त्यसरी प्राण त्याग्ने योगी कामकर्मबाट मुक्त हुन्छ । मैले यो शरीर नत्यागेसम्म हँसिलो मुहार, रातो कमल जस्ता आँखा भएका, ध्यानले प्राप्त हुने चतुर्भुज, देवदेव भगवान्ले प्रतीक्षा गरुन् ।

युधिष्ठिरले यति सुनेर ऋषिहरुका सामु शरशøयामा सुतेका भीष्मसँग धर्मका अनेकौँ कुरा सोधे । वर्णाश्रमको धर्म, मानिसको स्वाभाविक धर्म, वैराग्य र उपाधिका लक्षण बताए । दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म, भगवद्धर्मका विभागहरु सङ्क्षेप र विस्तार गरी भने । धर्म, अर्थ, काम, मोक्ष र तिनको उपाय, इतिहासका आख्यान ती तत्त्वज्ञानीले भने । उनलाई धर्म बताउँदा बताउँदै इच्छामृत्यु भएका योगी भीष्मले रोजेको उत्तरायणको समय आयो । आफ्नो बोली टुङ्ग्याएर ती हजारौँका नेता भीष्मले सबै तिरबाट मन हटाए, आँखा नझिम्क्याई अगाडि उभिएका, पीतवस्त्रमा सजिएका, चतुर्भुज, आदिपुरुष कृष्णमा मन एकाग्र गरे । विशुद्ध धारणाले अशुभ सकिएका ती कृष्णलाई देखेपछि हतियारका चोटको व्यथा बिर्सिए । सबै इन्द्रियको वृत्ति रोके, मृत्युको समय जानेका भीष्मले अत्यन्त मन लगाएर जनार्दनको स्तुति यसरी गरे-

बुद्धि तृष्णारहित भयो, भगवान् सात्वत पुरुषका विभूतिमा मन लाग्यो । विचरण गर्दै उनी आफ्नो सुख प्राप्त गर्छन् र संसारप्रवाह उनकै प्रकृतिमा पुग्दछ । त्रिभुवनका सुन्दर, तमाल वर्णका, शरीरमा सूर्यको चमक जस्तो सुनौलो वस्त्र लगाएका, मुन्द्रे कपाल लर्काएका, अर्जुनका सारथि भएका समयको अनुहारमा मेरो निश्छल रति रहोस् । युद्धका समयमा घोडाले उडाएका धुलाले मैल्याएको मुन्द्रे कपाल र पसिनाले भिजेको अनुहार देखेको थिएँ । मेरा तिखा बाणले जताततै चिरेका छालामा कवच लगाएका उनै कृष्ण मेरा आत्मामा रहून् । सखाको कुरो सुन्नेबित्तिकै झट्टै आफ्नो र विपक्षी सैन्यका बीचमा रथ पु¥याएर दृष्टिले नै शत्रुसेनाको आयु खोसेका ती अर्जुनसखासँग मेरो रति रहोस् । वरिपरिका योद्धाका मुखमा हेरेपछि आफन्त मारेको दोष लाग्ने बुझेर युद्धविमुख भएका अर्जुनको कुमति जसले आत्मविद्याद्वारा हटाए, ती परमेश्वरका चरणमा मेरो रति रहोस् । आफ्ना मनोभावलाई त्यागेर, मेरो प्रतिज्ञा सफल गराउन, बलियो सिंहले हात्तीलाई झम्टन उफ्रेझैँ, रथको पाङ्ग्रो बोकेर पछ्यौरा लतार्दै कुदेका म आततायीका तिखा बाणले घोचेका चोटहरुले शरीर रगताम्य भएका, मलाई मार्न वेगले दौडेका, उनै भगवान् मुकुन्द मेरा गति होऊन् । साथीको विजयरथ हाँक्तै एक हातमा लगाम र अर्का हातमा चाबुक लिएर शोभायमान, जसलाई यस लोकमा देखेर मर्नेले सारुप्य पाउँछ, ती भगवान्मै मर्न लागेका मेरो स्मृति रहोस् । सुन्दर गतिको मधुर चाल, हाँसोको विलास, प्रणयका दृष्टिले मनमा कल्पित गराउने, पछि लागेका गोपका वधूहरुलाई उन्मादमा अन्ध बनाउने, उनमै मेरो प्रकृति रमोस् । मुनिसमूह र राजाहरुले भरिएको, युधिष्ठिरले गरेको राजसूय यज्ञको सभामा उनीहरु सबैका माझमा अग्रपूज्य भएका उनै अहिले मेरा आँखाका सामु छन् । एउटै सूर्य प्रत्येक दृष्टिमा देखिए जस्ता, आफैँले रचेका शरीरधारीका हृदयमा अनेक रुपमा प्रतिभासित हुने उनै अजन्मा, भेदभ्रमरहितका सामुमा म छु ।

यसो भन्दै मन, वाणी, दृष्टि र वृत्तिले भगवान् कृष्णलाई आत्मामा प्रवेश गराई उनले अन्तिम सास बिसाए । भीष्मलाई निष्कल ब्रह्ममा लीन भएको जानेपछि साँझ पर्दा चरा चुप लागेझैँ सबै मौन भए । देवता र मानिसले त्यहाँ दुन्दुभि बजाए । साधु जस्ता राजा युधिष्ठिरले प्रशंसा गरे । आकाशबाट फूल बर्सिए । ती दिवङ्गतको अन्तिम क्रिया गराउँदा युधिष्ठिर केही मुहूर्त दुःखी भए । खुसी हुँदै मुनिहरुले कृष्णका गोप्य नामको स्तुति गरे, अनि कृष्णप्रेमीहरु फेरि आआफ्ना आश्रममा गए । कृष्णसँग युधिष्ठिर हस्तिनापुर गएर पिता र तपस्विनी गान्धारीलाई सान्त्वना दिए । पिताको आज्ञा र वासुदेवको समर्थनमा वैभवशाली राजाले पुर्खाको राज्य धर्मपूर्वक चलाए ।

प्रतिक्रिया दिनुहोस्