काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री



०१ फागुन २०७५, काठमाडौं

खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिएपनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।”

केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गर्नुभयो ।

मन्त्रालयका सहसचिव तेजराज भट्टले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री मगरले केयुकेएलमा कार्यरत उत्कृष्ट कर्मचारीहरु र अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्