फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका



२९ माघ २०७५, काठमाडौँ

इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरिद गर्न थालेको छ ।

वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरिद गर्न थालेको नगरपालिकाले जनाएको छ ।

गत माघ १ गतेबाट प्रतिकिलो १५ रुपैयाँका दरले प्लाष्टिकजन्य फोहर खरिद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

प्लाष्टिक खरिद गर्न माघ १ गतेबाट सुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ ।
फोहर प्लाष्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ ।

इलाम नगरपालिकाले विसं २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ । प्लाष्टिकजन्य फोहोरअन्तर्गत पोलिथिन झोला भने नगरपालिकाले नकिन्ने जनाएको छ ।

इलाम नगरपालिकामा दैनिक ७ टन फोहर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये करीब १० प्रतिशत प्लाष्टिजन्य फोहर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ ।

नगरपालिकाले खरिद गरेको फोहर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्रा बनाउने योजना नगरपालिकाको छ । सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्