पारिजातको वियोगान्त जीवन : सधैँ विभिन्न अभावसँग जुध्नु पर्थ्यो



२७ माघ २०७५, काठमाडौँ

पारिजात एक सु-प्रसिद्ध नेपाली साहित्यकार हुन्। बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी पनि हुन् पारिजात । पारिजातका कवितामा विसङ्गतिवादी, अस्तित्ववादी चिन्तन पाइन्छ । दार्जिलिङको लिंगीय चिया कमानमा वि.सं. १९९४ बैशाख महिनामा पारिजातको जन्म भएको थियो। उनको पिता (के.एन. वाईबा) एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्।

उनको न्वारनको नाम विष्णुकुमारी वाईबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो, जुन उनी आफैले रोजेकी थिइन्। उनका असंख्यां कृतिहरुले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौं भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट एस.एल.सी. र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरिन्। अंग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालय कलेजमा उनी भर्ना त भईन तर शारीरिक असक्तता र लेखन कार्यमा बिशेष सक्रिय भएको कारणले उनको इच्छा अधुरै रह्यो।

दर्शनसाश्त्र र साहित्य बिषयका ग्रन्थहरु खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक संघर्षसिल नारी थिइन । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन् । त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोग पीडा पनि खप्नुपर्यो । पिताको संरक्षण र रेखदेखमा काठमाडौंमा बसि अध्यनमा लाग्दा उनले विभिन्न अभावहरुसँग जूध्नुपर्यो । वि.सं. २०२९ सालमा पिताको देहावसान भएपछि उनलाई पितृस्नेहबाट पनि बन्चित हुनुपर्यो।

वि.सं. २०१३ सालमा ‘धरती’ पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन्। उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, बन, जंगल चहार्ने, जंगली फूलहरू टिप्ने गर्थे। सा-साना घटनाले पनि गहिरो प्रभाव पर्दथ्र्यो ।उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्। वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष मन मन पर्दथ्र्यो।

वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरे। त्यो समूहको नाम थियो ‘राल्फा’। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजात रहिन्। यो समूहले आफ्ना विद्रोहका स्वर देश-विदेशमा जहाँजहाँ उराल्दै हिँड्यो, त्यहाँ-त्यहाँ आफ्नो अशक्त शरीर लिएर पनि गईन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।

स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गईन्। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आफ्नो मनलाई सम्हालिन र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिईन्।

उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भईन्। पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भईन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रह्यो।

गीत सङ्गीतमा उनको ठूलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।

वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन्। विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको ‘प्राज्ञिक सङ्घर्ष समिति’को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्।

पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष अखिल नेपाल महिला माचको संस्थापक अध्यक्ष बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन्। अन्तराष्ट्रिय सङ्घ-संस्थाहरूमा Out Right International, Feminist Association, Society for Women Geographer, Amnesty International आदिसँग सम्बन्धित थिइन्।

उनले मदन पुरस्कार गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाइन्। उनलाई ‘जनमत’ र ‘नेपाल तामाङ घेदुङ सङ्घ’द्वारा अभिनन्दित गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक ‘शिरिषको फूल’को अङ्ग्रेजी अनुवाद Blue Mimosa लाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो। उनलाई मनपर्ने रङ्ग हरियो, मनपर्ने ऋतु वर्षा, मनपर्ने फूल गुराँस र मनपर्ने खानाः छोइला, मम, सुख्खा रोटी, काभ्रो, चिण्डो, टमाटर र कोइरालो थिए।

पारिजातका प्रकाशित कृतिहरू – आकांक्षा(कविता संग्रह, २०१४), शिरीषको फूल (उपन्यास, २०२२), महत्ताहीन (उपन्यास,२०२५), आदिम देश (कथासंग्रह, २०२५), बैँसको मान्छे (उपन्यास, २०२९), तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२), सडक र प्रतिभा (कथासंग्रह,२०३२), अन्तर्मुखी (उपन्यास, २०३५),उसले रोजेको बाटो (उपन्यास,२०३५-‘बेदना’ पत्रिकामा प्रकाशित), पर्खालभित्र र पर्खाबाहिर (उपन्यास,२०३२मा लेखिएको र २०३५मा प्रकाशित), अनिंदो पहाडसँगै (उपन्यास, २०३९), साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३), धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३), पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित), एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५), परिभाषित आँखाहरू (उपन्यास, २०४६), बोनी (उपन्यास, २०४८), आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८), बधशाला आउँदा जाँदा (कथासंग्रह, २०४९), वैशाख वर्तमान (कविता संग्रह, २०५०/मुत्युपछि प्रकाशित), अध्ययन र संघर्ष (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित), सुमित (संस्मरण,२०६५/मृत्युपश्चात प्रकाशित) हुन्।

उनले पाएका पुरस्कारहरु मदन पुरस्कार वि.सं. २०२२, युगज्ञान पुरस्कार वि.सं. २०२७, पाण्डुलिपि पुरस्कार वि.सं. २०४९, गंकी बसुन्धरा पुरस्कार वि.सं. २०४९ आदि हुन् । उनको निधन लामो समयसम्मको पुरानो व्यथाले गर्दा २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको विशेष उपचार कक्षमा भयो।

प्रतिक्रिया दिनुहोस्