पढ्दै जाँदा शिक्षाका ती दिन



२३ माघ २०७५, काठमाडौं

साँचो कुरो त मान्छे जन्मेका दिनदेखि उसको जीवन सुरु भएकै हो । आब्रह्मकीटपर्यन्त जीवन सबैको हुन्छ, जीवनमा खुसीको खोज सबैलाई हुन्छ । जीवनभित्र नै जीवन खानका लागि कि खानु जीवनका लागि भन्ने प्रश्न उठ्छन् । त्यसमा कतिपय बाध्यता र कतिपय स्वभावले भूमिका खेलेको हुन्छ । त्यसै प्रसङ्गमा-

काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम् ।
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा ।।

अर्थात्- बुद्धिमानको समय काव्यशास्त्रमा रमाउँदै बितेको हुन्छ तर मूर्खको समय दु:खी भएर, निद्रामा वा झगडामा बित्छ ।

नीतिश्लोक यसो भन्ने पनि छ । जीवन किन ? भन्ने कुराको बोध भएपछि मानिसले जिम्मेदारी होइन कर्तव्य, समस्या होइन अवसर, जीवनलाई सङ्घर्ष होइन पवित्र यज्ञ देख्छ । एकै बोटमा काँडो पनि हुन्छ र उसैमा फूल पनि फुल्छ । उसै गरी भ्यागुताको जन्मदेश र कमल फुल्ने ठाउँ एकै हुन्छ । कसैलाई देखेर त-

आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वति तथैव चान्य: ।
आश्चर्यवच्चैनमन्य: शृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।।

अर्थात्- कसैले अचम्म मानेर हेर्छ, कोही अचम्मको कुरो गर्छ, कुनै अचम्म हुँदै सुन्छ र सुने पनि कुनै चाहिँ बुझ्दैन ।

शास्त्रको यो सार्वभौमिक वाक्य व्यक्ति विशेषका लागि नै भनेको हो कि जस्तो लाग्छ । प्रसङ्ग छ ‘‘शिक्षाका ती दिनहरू’’ पुस्तक र त्यसका लेखक पुष्पराज पौडेलको । शिक्षा धेरैले लिएको हुन्छ । ती दिनमा आरोह अवरोह सबैको हुन्छ । तितामिठा अनुभव प्राय: सबैले गरेका हुन्छन् । बुझ्न जति सजिलो छ, बताएर बुझाउन त्यति सजिलो हुँदैन । बताउन जति सजिलो छ, लेख्न सजिलो उति हुँदैन । उहाँले आफ्नो शिक्षार्थी जीवनका आरोह अवरोह बताउने क्रममा अरुका लागि प्रेरक विषय अगाडि ल्याउनुभएको छ । त्यो पक्ष प्रशंसनीय छ । पुस्तकको लेखन हेर्दा तथ्यहरु दैनिकीमा सङ्कलन गरेर राखेका रहेछन् भन्ने अनुमान गर्न सकिन्छ । आनुप्रासिक शीर्षक, प्रवाहमान भाषा, सरल वाक्यगठन, गहन विषय प्रस्तुति, छोटा आलेख, धेरै सन्देश, सानो ठाउँ भईकन सुन्दर शैलीको सजावट यी सबै पक्षलाई हेरेर लेखन कुशलताप्रति लोभ लागेकै छ । अरु कुरा चोर्न आँट नआउने, विद्वत्ता चोर्न नसकिने । मनलाई चोर बनाउनुभन्दा बरु धन्यवाद दिँदा नै जाती पनि भइने, खुसी रहन पनि पाइने । यस्तै लाग्यो किताबका आधाआधी लेखहरु पढ्दा । सबै पढिसकिएको छैन, जति पढियो त्यहाँ पाइएका घत लाग्दा कुराहरु प्रसङ्ग आउँदा अवश्य अघि सार्ने वाचा रह्यो ।

पुष्पराज जीसँग हेड्स नेपालमा परिचय भयो । त्यसमा पनि लगातार दैनिक मनग्गे समय साथमा बस्ने गरी होइन । अक्कल झुक्कल भेट हुँदै गर्दा भएको परिचय हो । छोटै अवधिमा थोरैतिनो भेटघाटमै उहाँका विषयमा केही मैले भन्न खोज्नुको तात्पर्य साथमा रहेका क्षणमा परेको प्रभाव नै हो । हेड्स नेपाल नेपाली जनताले आफ्नो गाँस काटेर दैनिक एक रुपियाँ जम्मा गरेर चलेको समाजसेवी संस्था हो । आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई प्राय: विमुख गराएको जानकारी छैन । यहाँ आएको मानिस कुनै न कुनै काममा व्यस्त रहेकै हुन्छ । यस्तो संस्थामा संलग्न भएर काम गर्ने मान्छे हुनाले लेखक निश्चय नै समाजसेवी हुनुहुन्छ । आफ्नो अनुहार हँसिलो त छँदै छ, अर्काको पनि उस्तै बनाइदिने खुबीले नै सायद म प्रभावित भएको हुँ । हाँसोठट्टा फोस्रा गफमा भएका हुँदैनन् । कामकाजकै गहन कुरालाई पनि सिलसिला मिलाएर सहज बनाउने व्यक्तित्व भएकै कारण मलाई यसरी लेख्न सजिलो भएको हो । मसँग परिचय भएपछि उहाँको यो दोस्रो कृति हो । म दुवै पुस्तकको विमोचनका बेलामा उपस्थित रहेँ तर दुवैमा पूरा समय बस्न नपाईकन हिँडेको छु ।

प्रसङ्गको उठान बुझ्नभन्दा बुझाउन गारो भन्नेबाट भएको थियो । सन्दर्भ उहाँको दोस्रो कृतिका विषयमा हो । सानो उमेरदेखि क्रमश: ठुलो उमेरतर्फ आउँदा कम शिक्षितदेखि क्रमश: बढी शिक्षित हुँदै आउँदा अनुभव र अभ्यास दुवै परिपक्व हुँदै आए, स्वाभाविकै हो । लेखकका विषयमा यसरी सानो चर्चा गरेपछि अब पुस्तकलाई हेरौँ ।

बालबालिका र शिक्षक भएको सुन्दर आवरणमा २१२ पृष्ठको पुस्तकको मूल्य रु ३०० छ । गुरुजनहरुप्रति समर्पित सो पुस्तकको प्रकाशक हेड्स नेपालले प्रकाशकीय लेखेको छ । कृतज्ञता, आभार, धन्यवाद ज्ञापनमा टुङ्ग्याइएको आफ्नो लेखकीय मन्तव्यमा गद्यं कवीनां निकषं वदन्ति भन्ने कथनको भाव खुलस्त गरिएको छ । संस्थागत रुपले नै शैक्षिक र समाजसेवी क्षेत्रमा स्थापित वरियता प्राप्त व्यक्तित्व तीर्थराज वन्तको शुभकामना पुस्तकमा रहनाले गरिमा उच्च भएको कृति हो भन्ने ठम्याउन सजिलो भएको छ । शिक्षाप्रेमी, समाजसेवी मेदिनी शर्मा चुँदेलीको शुभकामना लेखमा पूर्वीय दर्शनका दृष्टिले समीक्षा भएको छ । समग्र पुस्तकको सार त्यसै लेखबाट लिन सकिने हुनाले पाठकलाई अस्पष्ट रहने ठाउँ रहेकै छैन । त्यसमाथि पनि लेखकले नेपालको शिक्षाको इतिहासलाई अति सङ्क्षिप्त आयाममा तर प्रस्टसँग राखिदिनाले पुस्तकबाट ग्रहण गरिने कुराहरु प्रचुर पाइएको छ । अब यसपछि लेखकका सिर्जनात्मक लेखहरु जति पढ्ने समय मिलाउन सकियो, तिनको अति छोटकरीमा टिपोट गर्ने प्रयास गर्दै छु ।

पहिलो लेख प्रेरणा नै शिक्षाको मूल सूत्र रहेछ शीर्षकको हो । यस लेखको स्वयं शीर्षक नै एउटा सूक्ति वाक्य हो । यसको थालनी नै आफ्ना पुर्खाको र वाङ्मयको स्मरणबाट भएको छ । पूर्वीय मान्यतामा राखिने मङ्गलाचरणका रुपमा ‘मेरा बाले वेद कसरी पढ्नुभयो होला ?’ भन्ने यही वाक्य पर्याप्त छ । यसै लेखमा दोस्रो अनुच्छेदको अन्तिम वाक्यमा ८० हजार कर्मकाण्डका मन्त्र, १६ हजार उपासनाका मन्त्र र ४ हजार ज्ञानकाण्डका मन्त्र भएको वेदमा जम्मा १ लाख मन्त्र भएको सूचना सबैका लागि महत्त्वपूर्ण रहेको छ । त्यस्तै गरी सबै लेखमा सबै कुराहरु नै-

अमन्त्रं अक्षरं नास्ति नास्तिमूलमनौषधम् ।
अयोग्य: पुरुषो नास्ति योजकस्तत्र दुर्लभ: ।।

अर्थात्- मन्त्र नबनेको अक्षर, औषधि विनाको वनस्पति, योग्यता नहुने मान्छे हुँदैन तर तिनको व्यवस्थापन गर्ने चाहिँ दुर्लभ हुन्छ भन्ने शुक्रनीतिको विचारलाई प्रमाणित गर्ने नै छन् । सबै अक्षर सार्थक छन् । अक्षरको संयोजन गर्ने लेखक पनि विषयलाई भाषाको कुञ्जीमा खिपेर राख्न जान्ने कालिगड नै पाएको छु ।

मातापितालाई सम्मान गर्नेले कसैको अपमान गर्दैन । मातापितालाई सम्मान गर्न नसक्नेले कसैलाई सम्मान गर्दैन । अरुलाई सम्मान गर्नेले असम्मान भोग्नु पर्दैन । अरुलाई सम्मान नगर्नेले अरुबाट सम्मान पाउँदैन । पूर्वीइ मान्यताको प्रसिद्ध विचार जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसीलाई काखको शिक्षा र आमाको इच्छा भन्ने अर्को शीर्षकले परिपुष्ट पारेको छ । सन्तानप्रति आमाका स्नेह र जन्मस्थानप्रति जीवनको कर्तव्यलाई सहज र व्यावहारिक कुरा गर्दा गर्दै राखिएको छ । प्रस्तुति प्रभावकारी र कुशल संयोजनमा रहेको छ ।

अर्को शीर्षक शिशु कक्षाको ज्ञान : चिन्ता छैन ज्यानमा- ‘चौतारामा वा चौरमा चकटी ओछ्याएर पढ्ने, कालो पाटीमा वा माटोमा वा भुईंमा कोरेर पढाउने चलन थियो त्यो बेला । गाउँबाट साथी–भाइ, दाजु–भाइ, दिदी–बहिनी मिलेर वा अभिभावकहरुले बोकेर, फकाएर, छकाएर, मिठाइ वा पिटाइ के गरेर हुन्छ, जसरी पनि लिएर तोकिएको स्थान वा मानिसकहाँ पु¥याएर पढ्ने र पढाउने चलन ।’ यति वाक्यले नै त्यस बेलाको शैक्षिक सामाजिक अवस्था, शिक्षाको उन्नतिमा सामाजिक रुचि, परिवारको आर्थिक अवस्था, देशमा औपचारिक शिक्षाको स्थिति, बालबच्चाको पढाइप्रतिको मनोभावना जस्ता धेरै कुरा देखिएका छन् र लेखकको वाक्य विन्यासमा आनुप्रासिक प्रयोगको रुचि तथा वाक्यगठनको सौन्दर्य पनि देखा परेको छ ।

शिक्षा व्यावहारिक हुनुपर्छ भन्ने कुरो सबैले गरेको सुनिन्छ, सुन्दै आइएको छ । भनाइ राम्रो हो, भनाइसँग र गराइको बेमेल अधिकार प्राप्त व्यक्तिहरुबाटै हुँदै आएको छ । घरबुनाका कपडाको ड्रेस : पुर्कोटकै उत्पादन बेस शीर्षकले सो कुरालाई साङ्केतिक द्योतन गराउँछ । जति जति पछिल्लो समय आयो उति उति देश सुधार्न भनेर आएका अनेकौँ रुपरङ्ग देखिए । देशभित्र रहेका उद्योग कलकारखाना ध्वस्त हुँदै गए । यस कुरालाई अभिधात्मक भाषामा नभनीकन साङ्केतिक रुपले द्योतन गराउँदै लेखकले लेखन कुशलता प्रकट गरेको पाइयो । यस लेखको पहिलो अनुच्छेदमा नै पुस्तैनी सिप र स्थानीय उत्पादनले सम्मान गर्ने हो भने अझै पनि नेपाललाई उन्नतिमा लैजान सकिन्छ र असल काम गर्नका लागि समय जहिले पनि हुन्छ भन्ने भाव प्रस्ट आएको छ । यस लेखले देशको समस्या उल्लेख गरेको नै हो भनेर मान्दा हुन्छ ।

लेखकले समस्या उठान गर्दै गुनासो मात्रै सुनाएर नछोडीकन समाधान पनि खोज्नु प्रशंसा योग्य कुरो हो । यद्यपि गाँडेपानी बगैँचामा : स्कुल खोल्ने धामा भन्ने लेखमा शिक्षाका क्षेत्रमा सामाजिक योगदान ग्रहण गर्ने अग्रता लिएका महामानवहरुको कर्मलाई प्रशंसा गरिएको छ तापनि अन्य सबै क्षेत्रमा यो विधि उपयोगी देखिन्छ । नेपाली उखान ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने छ । हुन त थुकको नदी बन्न त्यति सजिलो छैन र बन्यो भने पनि घिन लाग्दो नै होला तर पनि यसको मर्मलाई मनन गर्दा ज्यादा प्रभावकारी हुन्छ । सामाजिक क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुले अग्रता दिएका ठाउँमा जनस्तरबाट नै धेरै काम गर्न सकिँदो रहेछ, त्यसो भएपछि सरकारले पनि ढिलोचाँडो सहयोग गर्न कर लाग्छ भन्ने भाव देखाइयो र यो नै यथार्थ पनि हो । जहिले पनि र जहाँ पनि काम गर्नेलाई बाधा हाल्ने कोही न कोही देखा परिहाल्छन् भन्ने भाव चिसापानी कि सिस्नो पानी ? भन्ने भाव लेखमा पाइयो । पाठकले स्वयं पढ्दै जाँदा त्यसलाई अवश्य देख्नुहुनेछ । लेखनलाई छोटकरीमा बिसाउने रहर पनि र पाठकले गहिरिएर पढ्ने अपेक्षामा पनि उद्धरण नराखीकन पङ्क्तिकारले आफ्ना विचार राख्तै छु । बाधा पार्नेप्रति दूषित मन नगराईकन कुरा सुनिदिने हो भने भिन्न कोणबाट विश्लेषण गर्ने अवसर पाइन्छ ।

मनोविज्ञानको अति राम्ररी प्रयोग गरेर शिक्षा दिइएको, अभिभावक र शिक्षकको साझा लक्ष्य रहेको रमाइलो लेख हो दुई पैसाको सोमत र चार पैसाको मोमत शीर्षकमा रहेको । यसमा अर्तीभन्दा प्रयोगात्मक संलग्नता ज्यादा प्रभावकारी हुन्छ भन्ने भाव दर्साइएको छ । स्यालले कुखुरा लगिदिएर कुनै किसानले रातभरि सुत्न पाएनछ । कसैको सल्लाह मानेर उसले स्याल आउने बाटामा उखु रोपिदिएछ । स्याल उखुका ठुटा टोक्तै त्यतै अल्मलियो, किसानका कुखुरा पनि जोगिए, राति ढुक्कले सुत्न पनि पायो । बालकलाई स्याल भन्न खोजिएको त होइन, तर यस लेखमा कामको सफलता मनोवैज्ञानिक पद्धतिबाट सहजै पाइन्छ भन्ने पक्षको प्रशंसा अवश्य गरिएको हो ।

यस प्रकारले १०५ लेखहरु भएको यस पुस्तकबाट सुरुदेखि क्रमश: ५८ लेखहरु पढाइ भयो । सबै लेखका प्राय: सबै वाक्यमा मनन र विश्लेषण गर्न योग्य विषयवस्तु रहेकै छ भन्ने चर्चा माथि पनि भयो । अक्षरश: लेख्तै जाँदा धेरै दिन पनि लाग्ने । धेरै लामो लेख भएपछि पाठकको पढ्ने रुचि पनि रहँदैन । माथि यति कुरा गरिसकेपछि पुस्तकलाई विचारका दृष्टिले मननीय छ भन्ने दोहो¥याइराख्नु परेन । भाषा पनि राम्रो छ । बाल्यकालका कुराहरुबाट उठान भई समग्र विद्यार्थी जीवनका घटनालाई चर्चा गरिएको छ । त्यसो हुनाले यस पुस्तकका मुख्य पाठक बालबालिका नै हुन् । त्यसै अर्थमा बालसाहित्य उपयोगी शीर्षक छनोट भएका छन् र त्यो पक्ष प्रशंसायोग्य छ । अझ शैलीमा पनि उसरी बालशैली राख्न सकिन्थ्यो भने सुनमा सुगन्ध हुने थियो । पुस्तक अति नै शिक्षाप्रद छ । जसरी शुभकामनामा आएका अग्रलेखहरुमा विशेषता बताइयो, यहाँसम्म पढ्दा उनै कुरा पाइएका हुनाले त्यस पक्षमा दोहो¥याएर कुरा गर्नै परेन । पाठकहरुको मन जित्न पुस्तक सफल बनेको छ । यसरी नै अरु पनि लेख्नुहोस्, हामीले पढ्न पाइयोस् । लेखक पुष्पराज गुरुलाई यही शुभकामना ज्ञापन गर्दै विश्राम लिन्छु ।

प्रतिक्रिया दिनुहोस्