बूढानीलकण्ठ नगरपालिकाले कर अभियान चलाउँदै



१५ माघ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख उद्धव प्रसाद खरेलले १३ वटै वडाका वडाध्यक्ष र वडा सचिवहरुसँग नगरपालिका कार्यालयमा छलफल गर्दै तीन महिने कर अभियान संचालन गर्न निर्देशन दिएका छन् ।

करबारे नगरप्रमुख खरेलद्वारा प्रस्तुत मन्तव्यको भिडियो :

नगरप्रमुख खरेलले बाटोमा धुलो उड्यो, घरआँगनको फोहोर उठेन,  विकास भएन भन्दै कराउने नागरिकलाई पहिले कर तिरेर नागरिक दायित्व पुरा गर्न समेत आब्हान गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाका सल्लाहकार राधाकृष्ण भण्डारीले कर बारे तीन कुरा (कर अनिवार्य तिरो, कर तिर्नु नागरिक दायित्व र कर तिरेर अपेक्षा गर्न नमिल्ने) बताउँदै जनचेतनाको माध्यमले सबैलाई कर तिर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

छलफलमा बूढानीलकण्ठ नगरपालिकाको राजस्व शाखा प्रमुख अच्युत खड्काले नगरको आम्दानी र खर्चको विवरण पेश गर्दै जनप्रतिनिधि र कर्मचारी जिम्मेवार नहुने हो भने राजस्व संकलनको लक्ष्य पुरा नहुने बताए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले करमैत्री वातावरण निर्माण गर्नुपर्ने, सम्पत्ति करको अभिलेखीकरण गर्नुपर्ने, पुरानो बक्यौता छुट दिएर भएपनि सबैलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

त्यसैगरी छलफलमा वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराईले नगर प्रोफाईल संकलनको क्रममा ७५ भन्दा बढी घरधुरीले संकलकलाई विवरण उपलब्ध नगराएको भन्दै जनचेतनाको माध्यमले कर अभियान संचालन गर्नुपर्ने बताए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रशासन प्रमुख एकनाथ बास्तोलाले राजस्व संकलन लक्ष्य सन्तोषजनक देखिएकोले थोरै मिहिनेत गर्न सके तोकिएको लक्ष्य पुरा हुनेमा विश्वास व्यक्त गरे ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ का वडा सचिव राजेन्द्र रोक्का क्षेत्रीले  कर तिर्ने र नतिर्ने नागरिकले बराबर सुविधा पाएको, कर तिर्नेहरुलाई सम्मान नगरेको र झन्झटिलो प्रक्रिया भएकोले सबै नगरवासीले कर नतिरेको बताए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सून्दर पुर्कुटी, वडाध्यक्ष, वडा सचिव तथा सरकारी कर्मचारीहरु सहित पचपन्न भन्दा बढी नगर क्षेत्रका जिम्मेवार व्यक्तिहरुको भेलामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्