तेस्रो एग्रीटेक एक्स्पोको उद्घाटन अध्यक्ष दाहालले गर्ने



०९ माघ २०७५, चितवन/डिलकुमारी नेपाल

मिडिया स्पेस सोलुसन र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स इण्डियाले चितवनको भरतपुरमा आयोजना हुन लागेको तेस्रो नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने भएका छन् ।

एक्स्पो आयोजकले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै एक्स्पोको उद्घाटन प्रचण्डबाट हुने जानकारी गराएका छन् । जनवरी २५–२७ सम्म चल्ने तीन दिने एक्स्पो भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा हुन लागेको हो ।

एक्स्पोमा नेपाल, भारत, चीन, बंगलादेश, मलेसिया लगायत १५ वटा देशको सहभागिता रहने मिडिया स्पेसका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिएका थिए । एक्स्पोमा पशुपक्षींपालन, डेरी, कृषिका नवीनतम औजार, उपकरण र प्रविधिबारे प्रदर्शनी हुने आयोजकको भनाइ छ । कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउने एवं नवीनतम प्रविधि र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित एक्स्पो अवलोकन निःशुल्क गरिएको छ । एक्स्पोमा स्वदेश र विदेशका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ ।

एक्स्पोको सहआयोजकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र विशेष सहयोगीमा चितवन उद्योग संघ रहेका छन् । सहयोगी संस्थाहरुमा नेपाल पोल्ट्री महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका छन् । पत्रकार सम्मेलनमा भने आयोजक संस्था र विशेष सहयोगी संस्थाका प्रतिनिधिहरु उपस्थित थिए । सहआयोजकका तर्फबाट कोही उपस्थित थिएनन् ।

पत्रकार सम्मेलनमा एक्स्पोको विशेष सहयोगी संस्था चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, वरिष्ठ उपाध्यक्ष राजु पौडेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । मुलुकको समृद्धिका लागि कृषि उत्पादन बढाएर उत्पादनमा आधारित उद्योग संचालन गर्नु पर्ने उनीहरुको भनाइ थियो । एक्स्पोमा आम्दानी र खर्च एक करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्