वाईडबडी काण्ड प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ : अध्यक्ष डा. लोहनी



०५ माघ २०७५, काठमाडौं

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वाईडबडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा र सहमतिमा भएको देखा परेको गम्भिर आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले  भने,‘यो काण्ड दुई भुतुपुर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखा परेको छ । यसमा को के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषीलाई जोसुकै भएपनि छानबिन गरी निश्कर्षमा पुग्नपर्छ भन्ने हाम्रो पार्टीको माग छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै वाईडबडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लगाए । उनले भने,‘यो प्रकरणमा संसदलाई मन्त्रीले ठाडै ढाँटे । संसदलाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्शन अफ जष्टिस’ हो । अरु देशमा भएको भए कारबाही हुन्थ्यो ।’

वाईडबडी प्रकरणमा छानबिन गर्न र सत्य, तथ्य बाहिर ल्याउनको लागि पर्यटनमन्त्री अधिकारीले तत्काल राजिनामा दिनुपर्ने पनि माग गरे । उनले भने,‘लेखा समितिले कारबाहीको सिफारिश गरेको छ । यो यथार्थताको परिवेशमा नेपाल सरकारका पर्यटनमन्त्रीले अविलम्ब राजिनामा गर्नुपर्दछ । र, अख्तियारले अविलम्ब छानबिन सुरु गर्नुपर्छ ।’

उनले अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता पालना गर्नुपर्ने बताएका छन् । डाक्टर केसीसँग सरकारले पटक–पटक सम्झौता गरेको तर त्यसलाई कार्यान्वयन नगरी उपेक्षा गरेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारले पन्ध्रौं अनशनपश्चात् जुन सम्झौता गरेको छ, त्यसलाई पालना गरी आफ्नो प्रतिबद्धताप्रति वर्तमान प्रधानमन्त्री ओलीजीले ईमानदारीता देखाउनुपर्छ।’

उनले भने,‘प्रधानमन्त्रीजीले संसदमा विद्येयक गैसकेकोले अब मेरो केही छैन, जे गर्छ संसदले गर्छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो । सरकारको अहिले प्रचण्ड बहुमत छ । तर, मेरो केही छैन भनेर उहाँले यसरी गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्छ ? डा. केसीसँग जे सम्झौता र हस्ताक्षर भएको छ, त्यो सबै लागु हुनुपर्छ ।’

मुलुकमा पछिल्लो समय भ्रष्टाचार व्याप्त हुँदै गएको उनले आरोप लगाए । अध्यक्ष लोहनीले भने,‘साँढे ३३ केजी सुन प्रकरणमा जनता अब थाकिसके । फाईल प्रधानमन्त्रीकहाँ अड्किएको छ ।’ नेपालबाट अरबौंको धन विदेश लग्ने यथार्थता जनतासामू आएको उल्लेख गर्दै उनले भने,‘नेपालको धन देशबाहिर जानु नेपालको कानुनविपरित हो । स्वीस बैंकमा नेपालबाट रकम जम्मा गर्नु स्पष्ट गैरकानुनी हो र यो काम दोस्रो जनआन्दोलनपश्चात् व्यापक वृद्धि भएको छ। द्वन्द्व सकिएपछि २०६३ सालमा मात्रै पनि ४ अरबभन्दा बढि स्वीस बैंकमा जम्मा भएको छ ।’

उनले यसरी जम्मा गर्ने को हुन ? र कसरी उनीहरुले जम्मा गरे यस्ता प्रश्नबारे नेपाल सरकारसँग अलिकति पनि नैतिकता बाँकी रहे तुरुन्त अनुशन्धान गरी कारबाही गर्नुपर्ने पनि माग गरे । उनले भने,‘नेपालबाट अवैध तरिकाले रकम विदेशमा लगि त्यसलाई विदेशी लगानी भनि फेरि नेपाल भित्र्याउने धन्धा बढेको स्पष्ट छ । नेपालबाट कानुविपरित पुँजी बाहिर लगि यो कालो धनलाई सेतो धन बनाउने अभियानले व्यापकता पाएको छ ।’

लोहनीले यसबारे पनि सरकारको नैतिकता र जनताप्रति संवेदनशीलता भए अविलम्ब अनुशन्धान गर्न माग गरे । उनले ‘मनी लाउन्ड्रिङ’को काम कसले गरिरहेको छ भन्दै प्रश्न गरे । ‘जसले गरेपनि यो कानुनविपरित हो’–उनले थपे,‘यो धन्धा बढ्दै गयो भने नेपाल राष्ट्र नै अर्थतन्त्रको कालो सुचीमा पर्न सक्छ। त्यो डर नेपालमा आएको छ।’

उनले यो विषयमा सरकारले अविलम्ब अख्तियार दुरुपयोग अनुशन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमार्फत छानबिन गर्नुपर्ने बताए । उनले भने,‘जो–जो दोषी देखिन्छन्, उनीहरुलाई कारबाही गर्नुपर्छ ।’ लोहनीले भने,‘यसको लागि सम्पत्ति शुद्धिकरण विभाग अर्थ मन्त्रालयबाट झिकेर प्रधानमन्त्री अन्तर्गत राखिएको छ । तर, यो परिवर्तनपछि सम्पत्ति शुद्धिकरण विभाग निष्कृय र निरर्थक भएको छ।’

त्यस्तै उनले निर्मला हत्याकाण्ड अहिलेसम्म सबै नेपालीहरुको लागि पीडाको रुपमा रहेको बताए । उनले भने,‘हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेलाई ६ महिनासम्म सरकारले कारबाही गरेन । सरकारले यो प्रकरणमा विभिन्न टोली गठन गर्ने सिवाय केही काम गरेको छैन् ।’

निर्मला प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नालायकीपन देखाएको पनि उनले आरोप लगाए । उनले भने,‘अविलम्ब हत्यारा पक्राउ गर्नुपर्छ । राज्यले यो प्रकरणमा उपेक्षा गरेको र अत्याचारलाई प्रोत्साहन गरेको छ ।’

अध्यक्ष लोहनीले देश भ्रष्टाचारको दलदलमा फसेको बताउँदै दुई तिहाईको नाममा अनैतिकता र दलाल पुँजीवादले व्यापकता पाएको पनि आरोप लगाए । उनले फेरि दोहोर्याएर भने,‘यदि यही गतिमा देश जाने हो भने अन्र्तराष्ट्रिय वित्तिय क्षेत्रमा नेपाल कालो सुचिमा पर्नेछ र विस्तारै दुई तिहाईको सरकारको नेतृत्वमा देशमा माफियातन्त्रको विस्तार हुनेछ । यो यथार्थतालाई सरकारले समयमै बुझ्नु बुद्धिमानी हुनेछ।’ वर्तमान सरकार माफीयातन्त्रको शिकार भएको पनि उनले आरोप लगाए ।

फरक प्रसँगमा उनले आफूहरु अब राप्रपासँगमात्रै नभई देशभरिका प्रजातान्त्रिक शक्तिहरुसँग सहकार्य र एकता गर्ने पक्षमा रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीले देशभरिका प्रजातान्त्रिक शक्तिहरुसँग एकता गर्नुपर्ने महशुस गरेको छ । हामी एउटा बलियो प्रजातान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा जुटेका छौं । यसको लागि हामी एकता र गठबन्धन दुवै गरेर अघि बढ्छौं ।’ मुलुकलाई अधिनायकवाद र माफियातन्त्रबाट जोगाउनको लागि आफूहरुले प्रजातान्त्रिक शक्तिहरुसँग एकता र गठबन्धन गर्दै अघि बढ्ने सोच राखेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्