दक्षिण कोरियाको विश्वविद्यालय र बालउद्धार मावि विच भगिनी सम्बन्ध



०६ माघ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित श्री बालउद्धार माविमा दक्षिण कोरिया स्थित गाङरुङ वन्जु विश्वविद्यालयबाट उपकुलपति पार्क डुक योङ सहित उच्च स्तरीय प्राध्यापक, चिकित्सक, विद्यार्थी सहितको ३३ सदस्यीय टोली प्रशिक्षणरत रहेको छ ।

दुई हप्ते शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आदान–प्रदान अन्तर्गत आएको टोली प्रधानाध्यापक बिनोद पण्डितको निमन्त्रणामा विद्यालय आईपुगेको हो ।

प्र.अ पण्डितका अनुसार उक्त टोलीले माघ २ गतेदेखि नै विद्यालयमा दन्त शिविर आयोजना गरी सम्पूर्ण विद्यार्थीहरुको दन्त परीक्षणका साथै दाँत सफाई तथा दाँतमा सिमेन्ट भर्ने र आवश्यक औषधी निःशुल्क वितरण गरिरहेको छ ।

बाल उद्धार विद्यालयमा अध्ययनरत १४ बर्ष मुनिका २०० जना विद्यार्थीहरुलाई ५० जनाको दरले ४ समूह (विज्ञान, संगीत, कोरियन भाषा र तेक्वान्दो)मा बाँडी प्रशिक्षण दिईरहेको प्र.अ. पण्डितले जानकारी गराए ।

कार्यक्रममा गाङरुङ वन्जु विश्वविद्यालयका उपकुलपतिले बाल उद्धार विद्यालयलाई विश्वविद्यालयको भगिनी संस्थाको रुपमा लिने र शैक्षिक साँस्कृतिक कार्यक्रम आदानप्रदानका साथै विद्यालयलाई आवश्यक सहयोग गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्