बूढानीलकण्ठमा महानगरीय प्रहरीको नयाँ भवन उद्घाटन



०४ माघ २०७५, काठमाडौँ

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको नवनिर्मित भवनको आज उद्घाटन भएको छ ।

करीब रु दुई करोड ३१ लाखको लागतमा निर्माण गरिएको भवनको आज प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई द्वारा उद्घाटन गरिएको हो ।

उक्त अवसरमा भवन निर्माणका लागि जग्गा दिने जग्गादाता तथा सहयोगी विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । जग्गादाता दीर्घकुमारी खतिवडालाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको र प्रहरी कार्यालयमा सिसीटिभीका लागि सहयोग गर्ने बूढानीलकण्ठ नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रभागका पूर्वइञ्चार्ज प्रहरी निरीक्षक होमबहादुर पराजुली र रवीन्द्र पाण्डेलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने प्रभागमा रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्