के सम्भव होला ‘ट्रिपर’ माथिको समय सीमा



०३ पुस २०७५, इटहरी

झट्ट देख्दा लोकप्रिय तर निरन्तर असफल योजना ल्याउने एउटा संस्था हो, ट्राफिक प्रहरी । विकासमा देखिएको गति सँगै सडक अनुशासनको कमी भईरहेको अवस्थामा ट्राफिक प्रहरीले ल्याएका योजना असफल देखिदै गएका छन् । हर्न निषेधित क्षेत्र घोषणा देखी राडर गनको प्रयोग सम्ममा ट्राफिक प्रहरीले अपेक्षित नतिजा हात पार्न सकेको छैन । यस्तै एउटा योजना ल्याएको छ, एक नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले तर विगतमा असफल भएका योजनाका कारण यो योजना सफल हुनेमा समेत शंका देखिएको छ । ट्राफिकले प्रदेश १ मा दुर्घटनाको मुख्य कारणका रूपमा ढुवानीका साधन भएको निष्कर्ष निकाल्दै पौष १ गतेबाट प्रदेश १ मा बिहान र साँझमा ट्रिपर कुदाउन रोक लगाएको छ । बिहान ९ बजे देखी ११ र साँझ ३ बजे देखी ५ बजेसम्मलाई पिक अवरको घोषणा गर्दै उक्त समयमा ट्रिपर कुदाउन रोक लगाएको हो ।

बढ्दो सवारी जामलाई व्यवस्थापन गर्न र ट्रिपरबाट हुने दुर्घटना कम गर्न यो व्यवस्था गरिएको प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए । बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म टिपर चलाउन निषेध गरिएको हो । सो समयमा सबैभन्दा धेरै सवारी गुड्ने र दुर्घटना बढी हुने भएकाले यस्तो निर्णय गरिएको पौडेलको भनाइ छ ।

बर्खाको समयमा खोला निकासी बन्द भएपछि हिउँदको समयमा भौतिक संरचना बढी निर्माण हुने भएकाले ट्रिपरमार्फत् निर्माण समग्र बढी ढुवानी हुने गर्छ । बढ्दो शहरीकरण र त्यससँगै बढेका क्रसर उद्योगका कारण ट्रिपरको सङ्ख्या पनि बढिरहेको छ ।

ट्राफिक प्रहरीले प्रदेश १ का मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्ग, कोसी राजमार्ग साथै मुख्य र सहायक राभजमार्गमा ट्रिपर कुदाउन रोक लगाएको छ । विशेष गरी पुर्वका धरान, बिराटनगर, इटहरी, दमक, बिर्तामोड उदयपुर र पहाडी क्षेत्रका राजमार्गमा कडाइका साथ नियम लगाइने बताएको छ ।

एकातिर प्रदेश १ मा ट्राफिक प्रहरीको सङ्ख्या कम हुनु र अर्का्तिर क्रसर सञ्चालकले मनोमानी गर्ने परिपाटीले यो व्यवस्था कार्यान्वयन होला भन्न सकिन्नँ । ट्राफिक प्रहरीको आँखा छल्ने र भित्री बाटोबाट भए पनि ट्रिपर सञ्चालन बढी हुने धेरैको अनुमान छ । जसले गर्दा कमजोर तरिकाले बनेका भित्री बाटा छिटै भत्कने खतरा रहेको जानकारहरूले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्