एभरेष्ट प्रिमियर लिग : ललितपुर प्याट्रियट्स फाइनलमा



०३ पौष २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा ललितपुर प्याट्रियट्स फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर राउण्डमा मंगलबार किर्तिपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले काठमाडौं किंग्सलाई एक वीकेटले पराजित गरेको हो ।

टस हारेको काठमाडौंले सुरुवाती व्याटिङको निम्तो पाएको थियो । काठमाडौं १ बल बाँकी रहँदै अलआउट भएर १ सय ८ रनमा समेटिएको थियो । जवाफी व्याटिङमा उत्रिएको ललितपुरले पुरा ओभर खेल्दा ९ विकेटको क्षतिमा १ सय ९ रनको लक्ष्यलाई भेट्टाएको हो । ललितपुरको जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, पवन सर्राफले १९, कुशल भुर्तेलले २९ तथा योगेन्द्र सिंह कार्कीले २८ रनको योगदान दिए ।

यसअघि पहिले व्याटिङ गरेका काठमाडौंका लागि रोहन मुस्ताफाले ३२ रन, सागरपुन २९, तथा सिद्धान्त लोहनीले १६ रन बनाउन बाहेक अन्यले उल्लेखनीय रन जोड्न सकेका थिएनन् । काठमाडौं विरुद्ध पवन सराफ र योगेन्द्र सिंह कार्कीले समान ३–३ विकेट हात पारे । सन्नी पाटेलले २ विकेट लिए ।

यससँगै ललितपुर इपिएलको फाइनलमा प्रवेश गरेको छ । अब पराजित काठमाडौंले फाइनलमा पुग्नका लागि इलिमिनेटर राउण्डका विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्