सन् २०२२ मा कतारमा हुने विश्वकपको प्रस्तावित रंगशालाको नमुना सार्वजनिक



०३ पौष २०७५, काठमाडौं

चार वर्षपछि हुने विश्वकपका लागि कतार सरकारद्धारा आयोजना तयारीको जिम्मा पाएको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले निर्माणाधिन आठमध्ये बहुप्रतिक्षित लुजाइल रंगशालाको नमुना सार्वजनिक गरेको छ । राजधानी दोहाभन्दा १५ किलोमिटर उत्तरमा रहेको लुजाइल मरिनामा एक भव्य कार्यक्रमका बीच एससीले कचौरा आकृतिमा बन्न लागेको स्वर्णिम रंगको रंगशालाको नमुना पेश गर्यो ।

मध्यपूर्वको प्राचिन शिल्पकारिता झल्किने आकृतिको लुजाइल रंगशाला ८० हजार दर्शक क्षमताको हुनेछ । आयोजकले यही रंगशालामा चार वर्षपछि हुने विश्वकप २०२२ का उद्घाटन र फाइनल खेलाउने प्रस्ताव गरेको छ ।

‘हामीले फिफा विश्वकप २०२२ आयोजनाको अधिकार पाएको आठ वर्ष भएको छ । हामीले यसबीचमा विश्वलाई आश्चर्य अपेक्षा गर्न भन्दै आएका छौं । आज यो रंगशालाको आकर्षक नमुना प्रस्तुत गर्दै त्यही बाचा पूरा गर्ने बाटोमा रहेको देखाउन पाउँदा मलाई गौर व लागिरहेको छ,’ एससीका महासचिव हसनअल थावाडीले लुजाइल रंगशाला निर्माणाधिन नयाँ सहरको बीचमा हुने जानकारी गराउँदै भने, ‘लुजाइल भविष्यका लागि बनाइन लागेको सहर हो । विश्वकप सकिएपछि यो रंगशाला अन्य सात रंगशालाजस्तै नयाँ समु दायको एउटा हिस्सा बन्नेछ ।

’कार्यक्रममा उपस्थित विश्व फुटबलको सर्वोच्च निकाय फिफाकी महासचिव फातमा सामौराले कतारको विश्वकप तयारी तिव्र गतिमा भइरहेको भन्दै त्यसको प्रशंसा गरिन् । ‘कतारले विश्वकप आयोजनाको तयारीमा निरन्तर पूर्ण प्रतिबद्धताका साथ गरेको कामबाट म अत्यन्तै खुसी छु ।

लुजाइल रंगशालालाई आकर्षक स्वरुप दिन कतारले गरेको मेहनत प्रशंसनीय छ,’ सामौराले भनिन्, ‘कतारका रंगशालाहरु सामान्य रुपमा देखिने भन्दा धेरै आकर्षक छन् । फाइनलका लागि प्रस्तावित रंगशाला त झनै भव्य छ । खासगरी मध्य पूर्वको संस्कृति पनि कतारले लुजाइल रंगशालामा झल्काउन प्रयास गरेको छ ।

विश्वभरबाट आउने फुटबलका समर्थकले यहाँ विश्वकपको मजासँगै मध्यपूर्वको इतिहास र संस्कृति पनि अध्ययन गर्न पाउनेछन् ।’एससीका अनुसार लुजाइल रंगशाला निर्माणको काम सबै क्षेत्रमा तिव्र गतिमा चलिरहेको छ । २०२० सम्ममा यो रंगशाला निर्माणको सम्पूर्ण काम सक्ने कतार प्रशासनको योजना छ ।

विश्वकप आयोजनाका लागि प्रस्तावितमध्ये खलिफा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम २०१७ मै सम्पन्न भइसकेको थियो । खलिफा रंगशाला विश्वकपका लागि तयार भएको पहिलो पूर्वाधार थियो । थप दुई रंगशा ला अल वाख्रा र अल बायात निर्माणको काम पनि अन्तिम चरणमा रहेको फिफा र कतारी आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्