शहीद स्मारक ए डिभिजन लिग : आज तीन खेल हुँदै



०२ पौष २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । बिहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

आठ खेल खेलिसक्दा एक खेल पनि नजितेको एनआरटी अंक तालिकाको पुछारमा छ । तीन जित र दुई बराबरी गरेको हिमालयन शेर्पा भने ११ अंकसहित तालिकाको सातौँ स्थानमा छ । दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समै हुने खेलमा सरस्वती युथ र जावलाखेल युथ क्लब भिड्नेछन् ।

सरस्वती युथ ९ अंकसहित तालिकाको नवौँ स्थानमा रहँदा १०औँ स्थानमा रहेको जावलाखेल युथले सात अंक जोडेको छ। साढे २ बजे नै सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने खेलमा संकटा र फ्रेण्ड्स क्लब आमनेसामने हुनेछन् ।

संकटा सोमबारको खेल जितेर शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक बराबरी गर्ने दाउमा छ । मनाङ २४ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदा संकटा २१ अंकसहित तेस्रो स्थानमा छ । ५ अंकसहित फ्रेण्ड्स क्लब तालिकाको एघारौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्