बेनी–लभ्लीहिल पदमार्ग निर्माण शुरु



०२ पुष २०७५, म्याग्दी

म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण शुरु गरिएको हो ।

बेनीको हाँडेभीरदेखि लभ्लीहिल जोड्ने सो पदमार्गको आइतबारदेखि पूर्वाधार निर्माण शुरु गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । १ दशमलव ७ मिटर चौडाइ भएको सो पदमार्ग निर्माणमा रु ७८ लाख बढी लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४०, र १० प्रतिशत लगानी गर्ने यस पदमार्गलाई आगामी ३ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

पदमार्गको लागि रेखाङ्कन गरिएको क्षेत्रको झाडी सरसफाइ शुरु गरिएको छ । दुईदेखि तीन समूहमा जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणकार्यलाई तीव्रता दिइने शाक्यले बताउनुभयो । हाँडेभीरदेखि लम्भीहिलसम्म ६७७ मिटर लामो बाटोमा पक्की ढलान गरिएको पदमार्ग निर्माण हुने सङ्घका अध्यक्षसमेत रहनुभएका पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।

“म्याग्दी भ्रमण वर्षको अवसरमा सरकारी, निजी र प्रवासी म्याग्देलीको साझेदारीमा पर्यटन पूर्वाधार निर्माण गर्न लागेका हौँ, पदमार्ग निर्माणपछि सदरमुकाम बेनीसँगै लभ्लीहिल क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

गत भदौमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, मोनाका पदमार्ग निर्माण समितिका संयोजकसमेत रहेका उपाध्यक्ष ओमनारायण जुक्जाली र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्माचार्यले यस पदमार्गको संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । मोना–बेनी लभ्लीहिल पदमार्ग नामाकरण गरिएको यस योजनालाई समयमै सम्पन्न गर्ने गरी काम शुरु भएको जनाइएको छ ।

यो पदमार्ग निर्माणले लभ्लीहिलसँगै बेनीको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ । लभ्लीहिलबाट म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्ती, कालीगण्डकीको मनमोहक दृश्य, धौलागिरि हिमालको मनोरम दृश्यलाई एकै पटक अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्