युवा निलकण्ठले गर्यो नेपालकै पहिलो जनप्रतिनिधि फेशन शो (फोटो फिचर)



२२ मंसिर २०७५, काठमाडौँ

बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा युवा निलकण्ठ संस्थाले नेपालमै पहिलो पटक जनप्रतिनिधि फेशन शो सम्पन्न गरेको छ ।

आज बूनपा वडा नं १० स्थित ह्याण्डबल ग्राउण्डमा सम्पन्न बूढानीलकण्ठ साँस्कृतिक प्रदर्शनीमा नगरका सबै वडाका वडाध्यक्ष, वडा सदस्यहरु लगायत स्थानीय निकायका अन्य जनप्रतिनिधिहरुले परम्परागत पोशाक लगाई मञ्चमा उभिएर आआफ्नो भेषभूषा प्रदर्शन गरेका थिए ।

आधुनिक फेशन शो जस्तै गरि भएको कार्यक्रममा वडाध्यक्ष तथा सदस्यहरुले दर्शकलाई अभिवादन गर्दै मञ्चबाटै चुम्बन र नृत्य गरी सहभागीलाई मनोरञ्जन दिएका थिए ।

नगर भित्र प्रचलनमा रहेको कला, सँस्कृति, भेषभूषा, नृत्य, गायन र वाद्यवाधन समेतलाई उजागर गर्न आयोजित कार्यक्रममा स्थानीय स्तरमा उत्पादित नेवारी खाजा, पाउरोटी उद्योगबाट उत्पादित विभिन्न परिकार र स्थानीय महिलाहरुद्वारा तयार पारिएका हस्तकलाका उत्पादनहरु समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहका डा. राजन भट्टराई, प्रदेश सभा सदस्य दिपक निरौला, कुसुम कुमार कार्की, नगर प्रमुख उद्धव खरेल, उपप्रमुख रमादेवी राई, प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायत स्थानीय जनप्रतिनिधि र नेकपा कार्यकर्ता र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

नगर भित्रका विभिन्न वडामा संचालित विद्यालयका विद्यार्थीहरुले गायन, नृत्य, वाद्यवादन प्रस्तुत गरेका थिए भने बुढापाकाको भजन गायन समेत समेटिएको थियो ।

नगर प्रमुख उद्धव खरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवा निलकण्ठका अभियन्ता सुमित खरेलले र स्वागत मन्तव्य युवा निलकण्ठकी अध्यक्ष सुमित्रा श्रेष्ठले राखेकी थिईन् । त्यसैगरी दोश्रोसत्रको संचालन सिर्जना अधिकारी, प्रियस त्रिपाठी, प्रियानी शर्मा, अनुषा नेपाल लगायतले गरेका थिए ।

         

प्रतिक्रिया दिनुहोस्