एशिया प्यासेफिक सम्मेलनको सकारात्मक र नकारात्मक प्रभाव



१७ मङ्सिर २०७५, काठमाडौं

कम्बोडियासँग हवाई सम्झौता
सम्मेलनको अवसर पारेर नेपालले कम्बोडियासँग पहिलोपटक दुईपक्षीय हवाई सम्झौता गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अब कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४/१४ पटक सिधा हवाई उडान भर्न सक्नेछन् । लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बौद्ध धर्मालम्बी र नेपालबाट विश्व प्रसिद्ध हिन्दु मन्दिर ‘एङ्कर वाट’ घुम्ने दर्शनार्थीरुलाई निकै फाईदा पुग्ने देखिन्छ ।

सबै जसो तारे होटल बुक भए
सम्मेलनका सहभागीलाई राख्न राजधानीका अधिकांश तारे होटल प्रयोग भएका छन् । सम्मेलन सम्पन्न गर्न आयोजकका तर्फबाट २० करोड रुपैयाँ खर्च हुने अनुमानित खर्चको विवरण दीईएको थियो यसमा सहभागीहरुले गर्ने व्यक्तिगत खर्चको हिसाब छैन । व्यक्तिगत खर्चलाई हिसाब गर्ने हो भने एशिया प्यासेफिक सम्मेलनको कारण १ अर्व भन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गर्न सकिन्छ ।

१५,०० सय विदेशी पर्यटक एकैपटक नेपाल भित्रिए
नेपाल सरकारको एक पैसा पनि खर्च नगरी १५०० पर्यटक नेपाल आउनु पर्यटन उद्योगको लागि निकै राम्रो व्यापार हो । सहभागीहरुमा बालबालिका देखि युवा, विवाहित जोडी र सरकार प्रमुख सम्मको भ्रमणले पक्कै पनि नेपाल घुम्न योग्य देश हो भन्ने सन्देश प्रवाह गरेको छ । छोटो समय नेपाल बसेका भएपनि अधिकांशले नेपालीहरुलाई प्रशंसा गरिरहेका देखिन्थे । आफ्नो देश फर्किएर नेपालबारे उनीहरुले गर्ने छलफल र प्रभावले पक्कै पनि नेपालको दीर्घकालीन  पर्यटन विकासमा योगदान पुग्ने देखिन्छ ।

नेपाली आतिथ्यताप्रति हर्षित सहभागी
अतिथि देवो भवः अर्थात अतिथि देवता समान हुन् भन्ने नेपाली संस्कार र संस्कृतिको प्रभाव कार्यक्रममा प्रष्ट झल्किन्थ्यो । हायात होटलका कर्मचारी देखि नेपाली आयोजकहरुको स्वागतले उनीहरु निकै प्रभावित देखिन्थे ।

नेपालका पूर्व प्रधानमन्त्री तथा वर्तमान प्रधानमन्त्रीले सहभागीहरुलाई हार्दिक स्वागत लेखेका व्यानरहरु कार्यक्रम स्थलभर टाँगिएका थिए । अझ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएको समय र खटाईको धेरैले प्रशंसा गरिरहेका देखिन्थे । नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र समापनमा सहभागी भएर दिएको भाषण निकै प्रशंसा योग्य थियो । पहिलोपटक नेपाल आएकाहरु र पटक–पटक नेपाल आएका पाहुनाहरु समेत नेपाली सत्कार र सम्मान प्रति निकै खुशी देखिन्थे । नेपाली स्वागत, सम्मान र संस्कारले प्रभावितहरुको दिलमा पक्कै पनि नेपाल बारेको छाप दिर्घकालसम्म पर्ने देखिन्छ ।

धार्मिक व्याख्याताको जमघट
केहि सामाजिक संजाल प्रयोगकर्ताहरु र केहि प्रायोजित अनलाईन समाचारमाध्याम बाहेक धेरै संचार माध्यमले यो सम्मेलनलाई सर्वधर्म छलफलको फोरमको रुपमा व्याख्या गरे । कार्यक्रमका अधिकांश कार्यक्रमहरुमा कुनै धर्म विशेष वा एकपक्षीय धार्मिक गतिविधिहरु भएका देखिएनन् । हिन्दू, बौद्ध, मुश्लिम, जैन, शिख र क्रिश्चियन धर्मका व्याख्याताहरुले अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धर्मको बारेमा बोल्ने अवसर पाए ।  कार्यक्रमको उद्घाटन र समापान समारोहमा सबै जसो धर्मका व्याख्याता तथा गुरुहरुले मन्त्रोच्चारण गर्दै आ–आफ्नो धर्मको प्रचार गर्न पाए ।

विभिन्न देशबाट आएका प्रतिनिधिहरुले एक आपसमा मित्रता कायम गर्न सफल भए । सहभागीहरुको मित्रताले विश्व शान्तिको लागि थोरै भएपनि योगदान दिने देखिन्छ ।

दशौँ हजार नेपाली हायात परिकारमा रमाए
विभिन्न कार्यक्रम गरी दश हजार भन्दा बढी सामान्य नेपालीहरुले राजधानीको पाँच तारे हायात होटलमा नास्ता र खानाको अवसर पाए । केहि अनुहार खाना खाने समयमा मात्रै पनि देखिन्थे, भोजन प्रियहरुका लागि ३ दिन निकै सुखद देखिन्थ्यो ।

ठूला तारे होटलको स्वाद नपाएका वा स्वाद बिर्सिन लागेकाहरुलाई समेत सम्मेलन निकै लाभदायी देखिन्थ्यो । नेपालीहरुले नै खाएको भएपनि खानामा खासै अन्तर नहुने भएकोले होटल हायातले करोडौँ आम्दानी गर्ने अवसर पायो । केहि दिनको लागि भनेपनि केही सय नेपालीले काम पाए । साजसज्जा र गेट बनाउनेहरुले लाखौंको फूल प्रयोग गरे, केहि दिनको लागि भएपनि फूलबजारमा चहलपहल बढ्यो ।

कमजोर पाटो

धार्मिक संस्थाको कार्यक्रममा नेपाल सरकार नै सामेल
युनिभर्सल पिस फेडरेशनका पाँचौ प्रमुख एकनाथ ढकालले हिन्दु संस्कार अनुसार आमाको अन्तिम संस्कार गरेको, जनै लगाउने गरेको, विभिन्न हिन्दु चाडबाड मनाउने गरेको भएपनि यसका संस्थापक  रेभरेन्ड सन म्योङ मुन  विवादित क्रिश्चियन धर्मगुरु हुन् । आफू भन्दा निकै कान्छी युवती हाक जा हानसँग दोश्रो विवाह गरी दुवैलाई संयुक्तरुपमा ट्रु प्यारेन्ट्स (सच्चा मातापिता) भनाउन उनले आफ्नो सफ्ट चर्च युनिभर्सल पिस फेडरेशनलाई विश्वभर प्रयोग गरेको देखिन्छ ।

२०१२ मा आफ्नो पतिको निधन भएपछि मुन पत्नी हाक जा हान मुनले आफूलाई यशुको छोरी भन्दै विश्वभर स्वघोषित प्रचार गर्दै हिडेकी छिन् । मुन दम्पतीले आफ्नो परिवार विस्तार गर्ने वहानामा आफूलाई यशुकी एकमात्र छोरी घोषणा गरेपनि अरुलाई भने जवर्जस्ती गर्ने नगरेको देखिन्छ ।

सम्मेलन सहभागी र खर्चका हिसाबले निकै ठूलो हो । पूर्ववत सरकार र सरकार प्रमुखहरुले कार्यक्रमलाई सहयोग गरेका भएपनि एउटा एनजीओको कार्यक्रममा नेपाल सरकार र यसका निकायहरुको प्रत्यक्ष संलग्नता भने सोभनीय तथा स्वीकार्य देखिएन ।

विपक्षी र सामाजिक संजाल प्रयोगकर्तालाई निउ
सत्तासीन पार्टीका नेता कार्यकर्ता देखि विपक्षीहरु समेतले सम्मेलनमा सरकारको सहभागीतालाई चर्काएर आफ्नो एजेण्डा पस्कने गतिलो माध्याम बनाए । निकै नेता, कार्यकर्ता, राजावादी देखि राष्ट्रवादी सवैले सरकारलाई उडाउने दह्रो हतियार बनाए ।

केही मिडियाहरु र सामाजिक संजाल प्रयोगकर्ताहरुले सरकारलाई गाली गर्न र हान्न कुनै कसर पनि बाँकी राखेनन् । राम्रो काम गर्दा प्रशंसा गर्ने र नराम्रो गर्दा खबरदारी गर्ने प्रयोगकर्ताहरु कमै देखिए । हिजो लामा लामा स्टाटस लेखी सामाजिक सुरक्षा कार्यक्रमको विरोध गर्नेहरु अझ आक्रामक देखिए । आफ्नो संस्कार र संस्कृतिबारे अध्ययन, अनुसन्धान र प्रचार गर्न नचाहनेहरु समेत अहिले पण्डित बने ।

निष्कर्ष
सम्मेलनको विषयमा सरकारप्रति व्यक्ति वा समुदायले जस्तो धारणा बनाएपनि तात्कालीन रुपमा कार्यक्रमले नेपाललाई फाइदा छ तर दीर्घकालीन रुपमा यस्ता कार्यक्रमहरुले देश, परम्परा, संस्कृति र आन्तरिक एकतामा नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस किसिमका सम्मेलनहरु नेपालमा आयोजना हुनु स्वागतयोग्य छ तर नेपाल सरकार र देशको सरकारी संयन्त्रको यति धेरै प्रयोग गर्नु हितकर देखिदैन ।

     

प्रतिक्रिया दिनुहोस्