‘सरकारलाई घच्घच्याइ रहेका छौँ’



१३ मंसिर २०७५,काठमाडौं

साना तथा मझौला उद्यमीहरुको हक हितका लागि आवाज उठाउँदै आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघमा हाल १० हजारभन्दा बढी सदस्यहरु रहेका छन् । जसमा ०४७ सालदेखि स्थापना भएका पूराना साना तथा मझौला उद्योगी व्यवसायीहरु समेत गरी २१ संस्थाहरु गोलबद्ध छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालसँग विभिन्न बिषयमा रहेर परिवर्तन खबरका लागि कुञ्जरमणी भट्टराईले गरेको कुराकानी :

नेपाल राष्ट्रिय व्यवसायी महासंघबाट कस्ता कामहरु भइरहेका छन् ?

नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापना भएको तीन वर्ष पुग्यो । अघिल्लो फागुनमा प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न गर्यौँ । त्यसपछि हामीले राजनैतिक दलका प्रमुख, अर्थमन्त्री, उद्योगमन्त्री , अन्य मन्त्रालय तथा विभिन्न निकायमा ज्ञापन पत्र बुझायौँ । तथापी हाम्रा माग सम्वोधन भएका छैनन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको मात्रै नभएर हालसम्म व्यवसायीहरुको हक हितका लागि कार्यरत संघ संस्थाहरुले पटक पटक बुझाएका ज्ञापन पत्रको सरकारले सम्वोधन गरेको छैन् । मूलुकमा शान्ति स्थिरता रहेन् । व्यवसायीहरु विभिन्न उतारचढाव, दश वर्षे जनयुद्ध, दैवीप्रकोप लगायतका घटनाहरुसँग जुद्धै लामो समयसँग परिवर्तनका लागि पर्खिए । सरकारमा विभिन्न क्षेत्रबाट पटक पटक ज्ञापन पत्र पनि बुझाइए । तर सरकारले नसुनेपछि त्यसको विकल्पको रुपमा राष्ट्रिय व्यवसायी महासंघको स्थापना भएको हो । महासंघले विभिन्न छातामा रहेका संघहरुलाई एक ढिक्का गर्नेतर्फ लाग्यौँ ।

यहाँहरुको माग चाहीँ कस्ता छन् ?

भन्सारको प्रक्रियालाई सहजीकण गर्ने र त्यसमा व्यवसायीहरुको पहुँच हुनुपर्ने, उद्योगमैत्री वातावरणको सिर्जना गर्नुपर्ने ,साना उद्योगीहरुको र सरकारकाबीच समन्वय हुनुपर्ने, जोसँग कला र सीप छ उसको सम्मान हुनुपर्ने । त्यस्तै दक्ष जनशक्ति तयार गर्नका लागि तालीम केन्द्रको स्थापना गर्नुपर्ने, र व्यवसायीको सम्मान स्वरुप बुढेसकालमा थप सेवा उपलब्ध गराउनुपर्ने, सुरक्षको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखेका छौँ ।

व्यवसायीको माग सम्वोधन हुन नसक्नुका कारणहरु के–के हुन् ?

यसको प्रमुख कारण हो लामो समयदेखि उद्योग व्यवसायमा जरा गाडेर बसेको सिण्डिकेट । यसले गर्दा धेरै विषयहरुमाथी प्रभाव जमाएको छ । मैले त सिण्डिकेटको अन्त्य हुनुपर्ने धारणा राख्दै आएको छु । नेपालमा राजनीति परिवर्तन त भयो । देश संघीय प्रणालीमा गयो । तर उद्योग र व्यवसायबीचरहेको सिण्डिकेट चाहीँ राणाकालदेखी नै जकडिएर बसेको छ । यहाँ समस्या के छ भने साना उद्योगी र व्यवसायीहरुका लागि नीति बन्दैन् । नीति त केबल पहुँचवालका निमित्त मात्र बन्ने गरेका छन् । मूलुक आयातमूखी बन्न पुग्नुको कारण नै आफूलाई पाच्य हुने नीति बनेर त हो । जबसम्म सरकार साना उद्योगी व्यवसायीको समस्या सुन्दैन तबसम्म मूलुक आयातमूखी बन्ने र युवाहरु विदेश पलायन हुने क्रम जारी नै रहन्छ । देशमा रोजगारीको प्रचुर भण्डार हुँदा हुँदै पनि झनै सहुलियत रुपमा युवाहरु विदेश पठाइरहेका छौँ ।

लागू नै नहुने मागसहितका ज्ञापन पत्र बुझाई रहनुको आवश्कता चाँही किन ?

हामीले भनेका सबै मागहरु सहजै सम्वोधन हुन्छन् भन्ने छैन् । सरकारलाई हाम्रा समस्याहरुसहित मागहरुबारे घचघच्याइ रहने काम हाम्रो हो । सम्वोधन गर्ने नगर्ने सरकारकै हातमा छ । हाम्रो दायित्व भनेको हाम्रा यस्ता समस्या छन् भनेर जानकारी दिने हो । कुनै न कुनै सरकारबाट त यी मागहरु सम्वोधन होलान भन्ने पखाईमा छौँ । ज्ञापन पत्र बुझाउन जाँदा तपाईहरुले जे निर्णय गरेर आउनुभएको छ त्यसमा सत प्रतिशत सरकारको साथ रहन्छ भन्दै ढुक्कसँग बस्न आग्रह गर्नुुभएको छ । तर, त्यो आश्वासनले संघ ढुक्क भई बस्ने सक्ने अवस्था छैन ।

महासंघबाट भएका अन्य कामहरु ?

सरकारको मुख ताक्ने भन्दा पनि हामी आफ्नै बलबुतामा काम गर्ने प्रयत्न गरिरहेका छौँ । हाम्रो पहिलो काम भनेको सातैवटा प्रदेशमा हाम्रो लगानीमा औद्यौगिक क्षेत्र करिडोर बनाउने । हामीसँग केही गर्छु भन्दा पनि कुनै पनि बैंकले ऋण दिनका लागि नमान्ने दशौँ हजार व्यवसायिको झुण्ड छ । हामी आत्मनिर्भर बन्नका लागि तालीम केन्द्र स्थापनाको लक्ष्य लिएका छौँ । सरकारले औदोगीक ग्राम, विशेष औद्योगीक क्षेत्र बनाउने योजना ल्याएको छ तर त्यहाँ सबैको पहुँच पुग्दैन् । त्यसमा पनि सिण्डिकेटवालाहरु नै पुग्ने हुन् । दुई तिहाइरको सरकार आएपनि खासै परिवर्तन भएको देखिँदैन् ।

करको विषयमा यहाँको धारणा……..?

अत्याधिक रुपमा बढाइएको करले साना व्यवसायीलाई झनै अप्ठ्यारोमा पारेको छ । यो करले साना उद्योगीलाई सडकमै लैजान आँटेको छ । कर रहले तिर्न पाउनुपर्दछ । त्यसो भन्दै गर्दा कर तिर्नु हुन्न भन्ने हैन् । देश सम्बृद्ध बन्नका लागि हामीले कर तिर्नैपर्छ । हामीले सबै व्यवसायीलाई कर तिर्न आग्रह गरिरहेका छौँ । कर तिर्नका लागि राज्यले स्वच्छ वातावरण बनाउनुपर्दछ ।

महासंघको भावी योजनाहरु कस्ता छन् ?

लामो समय विभिन्न समस्याको सामना गर्दै आयौँ । अहिलेको दुई तिहाईको सरकारसँग पनि धेरै आशाा राख्यौँ । तर केहि परिवर्तन नदेखिएपछि हामी पहिले जसैगरी कसरी एकिकृत हुनसक्छौँ , हामीले जीवीको पार्जन कसरी गर्न सक्छौँ भन्ने कुरामा विभिन्न योजनाहरु ल्याएका छौँ । सरकारकै मुख नताकीकन आफैँ भन्सारसम्म जाने वातावरण बनाउने , कच्चा पदार्थको हकमा यहीँ अनुसान्धन गर्ने कामकोे सुरुवात पनि गरिसकेका छौँ । व्यवसायी र उद्योगीबीचको भाइचारालाई अझै मजबुत बनाउने काममा जुटिरहेका छौँ । लामो समयदेखि स्थापना भएका महासंघहरुले एक ठाउँमा ल्याउन नसकेको २१ वटा संघ एकै ठाउँमा ल्यायौँ । ४७ सालदेखि स्थापना भएका व्यवसायीहरुलाई एकै ठाउँमा मिलाउने काम त्यति सहज थिएन् ।

प्रतिक्रिया दिनुहोस्