नेपालको पाँचथरबाट राष्ट्रिय परिचय–पत्र वितरण सुरु



०३ मंसिर २०७५, काठमाडौं

नेपालमै पहिलोपटक पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । सोमबार एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापाले जिल्लाकै सबैभन्दा जेष्ठ १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचय पत्र वितरण गरेका हुन् । भण्डारीले परिचयपत्र प्राप्त गरेपछि गृहमन्त्री थापालाई पनि परिचयपत्र प्रदान गरेकी छन् ।

२०७४ भाद्र १९ गतेको सरकारी निर्णयानुसार पहिलोपटक पाँचथरका नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । सोमबारदेखि सुरु परिचयपत्र वितरण निरन्तर चल्ने छ । पहिलो दिन पाँचथरका ५० जना नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारभित्र काम गर्ने कर्मचारीलाई परिचयपत्र वितरण गर्न थालिएको हो । परिचय पत्र एटिएम कार्ड जस्तै छ । व्यक्तिका सम्पूर्ण विवरण राख्न मिल्ने गरि परिचय पत्र बनाइएको छ । १० वटा अंक रहेको परिचयपत्रमा प्रत्येक व्यक्तिको नम्बर फरक रहने छ ।

नागरिकता लिएका र नागरिकता लिन योग्य व्यक्तिलाई परिचयपत्र वितरण गर्न थालिएको हो । दीर्घकालमा बच्चा जन्मनेबित्तिकै १० अंक भएको परिचयपत्र गरिने महानिर्देशक काफ्लेले जानकारी दिए । ५० डिग्री सेन्टिग्रेटसम्मको तापक्रममा नपग्लने गरी बनाइएको परिचय पत्र पानीले पनि नभिज्ने र नकोरिने दाबी गरिएको छ । बायो मेट्रिक चिप्सको प्रयोग गरेर परिचयपत्र निर्माण गरिएको हो । परिचयपत्रमा धेरै विवरण अटाउन सकिने भएपछि सुरुमा वैयक्तिक विवरण (नाम, ठेगाना, पारिवारिक विवरण) र जैविक विवरण (फोटो र औंठाछाप) मात्रै राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्